धादिङ,२७ चैत
धादिङबेशी बजार क्षेत्रको पाँच स्थानमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ । शुक्रबार नीलकण्ठ नगरपालिकाले धादिङबेशीको पुछारबजार प्रहरी बीट क्षेत्र, बसपार्क क्षेत्र, बीचबजार, धादिङ उद्योग वाणिज्य संघको भवन आसपासको क्षेत्र र सिरान बजार क्षेत्रमा फ्रि वाईफाई सेवा सूरु गरेको छ ।
उक्त सेवाको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले उद्घाटन गर्नुभएको हो । एउटा राउटरबाट एकै पटक १५० जनाले र एक जनाले एक पटकमा ९० मिनेट निःशुल्क चलाउन सक्ने गरी सेवा बिस्तार गरिएको सूचना प्रबिधि अधिकृत जोशीले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर ढुङ्गानाले नगरपालिकाको घोषित नीति कार्यक्रम अनुसार धादिङबेशी बजार क्षेत्रका पाँच स्थानमा फ्रि वाईफाई सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो । अहिले बजार क्षेत्रका पाँच ठाउँमा पाँच वटा राउटरबाट सेवा सुरु गरिएको र अरु स्थानमा पनि सेवा विस्तार गर्ने तयारी भईरहेको बताउनुभयो ।
कार्यक्रममा मेयर ढुङ्गानाले बैशाखको पहिलो हप्ताभित्र धादिङबेसी बजार क्षेत्रमा फ्रि वाइफाइ सेवा प्रवाह हुने बताउनु भएको छ । अहिले नगरपालिकाले जीपीएस सिस्टम राख्ने तयारी अगाडि बढाई सकेको बताउनु भयो । फ्रि वाईफाई सेवा सुरु गरिएको क्षेत्रमा मोबाईलमा अटोमेटिक वाईफाई कनेक्ट हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस