धादिङ,१६ चैत ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताउनु भएको छ ।
तर, पूर्वनिर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालय तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरुले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरु सञ्चालन गर्नसक्ने बताइएको छ । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याल लगायतको सहभागिता रहेको थियो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उक्त विषयमा छलफल गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस