धादिङ १४ चैत्र
नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख मनराज भण्डारीले संघ र प्रदेशसँग साझेदारी गर्दै नगरपालिका र आफूले यो टोलको समग्र विकासको लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङमा नमूना सडक तथा जरेवर प्रतीक्षालय उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै भण्डारीले टोल सुधार समितिको सक्रियता भए मात्र विकासले फड्को मार्ने बताउदै युवाहरुले सञ्चालन गरेको साक्षरता कक्षालाई नगरपालिकाको तर्फबाट आर्थिक सहयोग जुटाउन पहल गर्ने बताउनु भयो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङमा नमूना सडक तथा जरेवर प्रतीक्षालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । जरेवर टोल सुधार समितिको अगुवाइ तथा उप प्रमुख मनराज भण्डारीको विशेष पहलमा नीलकण्ठ नगरपालिका धादिङको रु. ६ लाख आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको प्रतीक्षालय शनिबार नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । यस्तै शनिबार नै नीलकण्ठ नगरपालिकाको कुल १० लाख बजेटमा निर्मित जरेबर स्ल्याब ढलानको पनि उद्घाटन गरिएको छ ।
जरेबर टोल सुधार समितिका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ लगायत स्थानीय समाजसेवीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमकै अवसरमा ९६ वर्षीय जेष्ठ सदस्य पदम बहादुर गुरुङलाई सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस