धादिङ ०३ चैत्र
जिल्ला अस्पताल धादिङमा मङ्गलबार मुटुरोग तथा अपाङ्गता भएका बालबालिकाहरुको उपचारको लागि अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न भएको छ । जिल्ला अस्पताल धादिङको आयोजना तथा सुन्दरढोका साथी सेवाको समन्वयमा सम्पन्न कार्यक्रममा जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षता तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका डा. रमेश अधिकारी, प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल, स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेल, लगायतको आतिथ्यता रहेको थियो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयसँगको साझेदारीमा सुन्दरढोका साथी सेवा संस्थाले मुटुरोग तथा अपाङ्गता भएका गरिब तथा असहाय बालबालिकाहरुलाई निःशुल्क पूर्ण उपचारका लागि जिल्ला अस्पताल धादिङसँग समन्वय गर्ने योजना अनुरुप धादिङ जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यक्रम प्रमुख बिजाता लुइटेलले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा धादिङ जिल्लाका १० जना मुटुरोग भएका बालबालिका र १० जना अपाङ्गता भएका बालबालिकाहरुलाई निःशुल्क उपचार गराउने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस