धादिङ ०३ चैत्र
नेपालगन्जमा जारी एन्फा प्रेसिडेन्ट लिगमा धादिङले पहिलो खेलमा फराकिलो जित हात पारेको छ । बागमती प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागी भएको धादिङ समाज धादिङले कर्णाली प्रदेशबाट सहभागी भएको जुम्लाको टिमलाइ ९–१ गोल अन्तरले पराजित गरेको हो । धादिङको लागि आमिर श्रेष्ठले ४ गोल, शिशिर लेखीले ३ गोल तथा विपिन कँडेल र उमेश राइले १–१ गोल गरेका थिए । ४ गोल गरेका श्रेष्ठ खेलको म्यान अफ दि म्याच चुनिएका छन् । जुम्लाको तर्फबाट संगम शाहीले १ गोल फर्काएका थिए । ७ प्रदेशबाट प्रदेश लिगमा विजेता भएका टिमहरु एक आपसमा प्रेसिडेन्ट लिगको उपाधीका लागि प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो हाफमा २ गोलको अग्रता लिएको धादिङले दोस्रो हाफमा ७ गोल थपेको थियो । पहिलो हाफको अन्त्यतिर धादिङ १० खेलाडीमा सिमित भए पनि खेलमा त्यसको कुनै प्रभाव परेन । खेलको ४० औ मिनेटमा जुम्लाका खेलाडीलाई डि एरियामा फल गरेपछि धादिङका खेलाडीले सिधै रातो कार्ड पाएका थिए । त्यस्तै धादिङका खेलाडीहरुको हौसला बढाउनको लागि नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना र फुटवल संघ धादिङका अध्यक्ष दिपक खतिवडा नेपालगन्ज नै पुग्नुभएको छ । रङ्गशालामै पुगेर अन्तर प्रदेश स्तरीय प्रेसिडेन्ट लिगमा बागमती प्रदेशको तर्फबाट खेल्ने धादिङ समाजका खेलाडीहरुलाई मेयर ढुङ्गाना र फुटबल संघ धादिङका अध्यक्ष खतिवडाले आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ । नेपालगंज पुगेर नगर प्रमुख ढुङ्गानाले खेलाडीहरुलाई भेट्दै बागमती प्रदेशका लागि प्रेसिडेन्ट कप जितेमा नीलकण्ठ नगरपालिकाले नगद २ लाख प्रदान गर्ने बताउनु भएको थियो भने जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाले पनि बागमती प्रदेशको लागि खेल्दै गरेको धादिङको टिमका खेलाडीलाई १ लाख दिने घोषणा गर्नुभएको छ ।
तस्बिरः सामाजिक सञ्जाल
प्रतिक्रिया दिनुहोस