धादिङ ०२ चैत्र
जिल्ला अदालत धादिङको नव निर्मित भवन सोमबार उद्घाटन गरिएको छ । सवोच्च अदालतका वरिष्ठ न्यायाधिश दिप कुमार कार्कीले एक कार्यक्रमका बिच भवन उद्घाटन गर्नुभएको हो । उच्च अदालत पाठनका मुख्य न्यायाधिश डा. देवेन्द्र चुडालको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य भूमि त्रिपाठी, बागमती प्रदेश सभा सदस्य डा. राम कुमार अधिकारी, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो । २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले जिल्ला अदालत धादिङको भवनमा क्षति पुगेपछि नयाँ भवन निर्माण गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मार्फत निर्माण गरिएको उक्त भवन कुल ७ करोड ५२ लाख ९९ हजार ६ सय ५७ रुपैयाँ ३३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । तीन तला रहेको भवनमा ३४ वटा कोठा रहेको छ । भवन अपाङ्गमैत्री हुनुका साथै लिफ्ट समेत जडान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस