धादिङ ०२ चैत्र
जिल्ला सामुदायिक आँखा केन्द्र धादिङलाई सेकेन्डरी आँखा अस्पतालको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । सेकेन्डरी अस्पतालका लागि आवश्यक उपकारणहरु थप गरिएको तथा सबै संरचना तयार भएकाले विशेषज्ञ डाक्टरको व्यवस्थापन हुनासाथ सेकेन्डरी अस्पतालका रुपमा विकास गर्न सकिने तिलगंगा आँखा प्रतिष्ठानका भागिरथ बानियाले जानकारी दिनुभयो । सामुदायिक आँखा केन्द्रले स्थापनाकालदेखि हालसम्म १ लाख ६८ हजार १ सय ३४ जनालाई सेवा प्रदान गरेको छ । सन २००१ मा स्थापना भएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङले वार्षिक १५, १६ हजार बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको छ । सोमबार जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको डिप्याक मिटिङमा सामुदायिक आँखा केन्द्रका इन्चार्ज रामसिं तामाङले तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । कार्यक्रमको सहजीकरण गर्दै तिलगङ्गा आँखा प्रतिष्ठानका भागिरथ बानियाले २०५० सम्ममा ५० प्रतिशत बालबालिकाले चस्मा लगाउनु पर्ने अवस्था आउने अध्ययनले पुष्टी गरेको बताउदै नेपालमा ४ प्रतिशत विद्यार्थीहरुले आँखाकै समस्याका कारण विद्यालय छोड्ने गरेको जानकारी दिनुभयो ।
२००१ मा स्थापना भएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङले चस्मा जाँच, माइनर सर्जरी, समय समयमा मोतियाबिन्दुको अप्रेशन, स्थानीय स्तरमा आँखा शिविरहरु सञ्चालन गर्दै आएको छ । जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तार गर्ने लक्ष्यका साथ अगाडि बढेको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङले गजुरीमा आई क्लिनिक सञ्चालन गरिसकेको छ भने खनियाबास गाउँपालिकामा सेवा विस्तारका लागि सम्झौता गरिसकेको छ । यो वर्ष ४० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखा सम्बन्धी तालिम प्रदान गर्ने, विभिन्न विद्यालयका २ण् जना शिक्षकहरुलाई तालिम दिने लक्ष्य राखेको छ । साथै सेकेन्डरी अस्पतालको रुपमा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा जिल्ला समन्यव समिति प्रमुख एवं जिल्ला सामुदायिक आँखा केन्द्र धादिङ व्यवस्थापन समिति अध्यक्ष जगन्नाथ नेपालले जिल्लाका सबै नागरिकहरुको पहुचमा आँखा अस्पतालको सेवा विस्तार गर्ने लक्ष्यका साथ अगाडि बढेको बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल, स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम प्रसाद पोखरेल, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजाल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस