धादिङ,२८ फागुन ।
नीलकण्ठ नगरपालिका धादिङको आठौं नगर सभा सम्पन्न भएको छ । शुक्रबार धादिङबेशीमा “समृद्ध नीलकण्ठ नगरको आधार कृषि पर्यटन उद्यमशिलता सहितको पूर्वाधार” भन्ने मुल नाराका साथ आठौं नगर सभा सम्पन्न भएको हो । कार्यक्रममा सहभागि भएका वडा अध्यक्षहरुले नगरपालिकामा पछिल्लो समयमा भएको विकास निर्माणको कामको नगरपालिका बाट अनुगमन गर्न ढिलाई भएको, बाह्रै महिना चल्ने भनिएको सडक ८ महिना पनि चल्न सक्ने अवस्था नभएको, वडा नम्बर १ मा भएको लामागुरु क्षेत्रको संरक्षण गर्नु आवश्यक रहेको साथै कृषिमा छुट्याएका बजेटहरु वास्तविक किसानले नपाएको लगाएतका गुनासाहरु राखेका थिए । नगरपालिकाका मेयर तथा उपमेयरले कार्यक्रममा वडा अध्यक्षहरुले उठाएका प्रश्नहरुको सम्बोधन गर्नुभएको थियो । त्यस्तै नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले नगरपालिकाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगाना, उपमेयर मनराज भण्डारी लगाएत नगरपालिकाका सबै वडा अध्यक्षहरु लगाएत नगरपालिका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस