धादिङ २६ फाल्गुण
धादिङको सिद्धलेक गाउँपालिकाले जेष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम सुभारम्भ गरेको छ । बुधबार एक कार्यक्रमका बिच गाउँपालिकाले कार्यक्रमको सुभारम्भ गरेको हो । जेष्ठ नागरिकहरुमा भएका स्वास्थ्य समस्याहरुको पहिचान गर्ने तथा लेखाजोखा राख्ने, स्थानीय स्तरमा समाधान गर्न सकिने स्वास्थ्य समस्याहरुको समाधान गरी आवश्यक भएमा थप उपचारका लागी माथिल्लो निकायमा समयमै प्रेषण गर्ने र जेष्ठ नागरिकहरुको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यका साथ कार्यक्रम सुभारम्भ गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो ।
जेष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम सञ्चालन गर्ने जिल्लाकै पहिलो गाउँपालिका रहेको बताउदै शर्माले चालु आर्थिक वर्षमा सुरु गर्न लागिएको जेष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम जेष्ठ नागरिकहरुको घरदैलोमा नै गई उनीहरुको स्वास्थ्य परीक्षण, उपचार, सल्लाह तथा आवश्यकता अनुसार प्रेषण गर्ने र प्रत्येक जेष्ठ नागरिकहरुलाई आपूm स्वस्थ्य रहेको महशुस गराउनुका साथै वैदेशिक रोजगारीमा रहेका प्रत्येक छोराछारीेहरुलाई पनि आफ्ना बावु आमाको स्वास्थ्यको जानकारी गराउने उद्धेश्य रहेको बताउनु भयो । कार्यक्रममा प्रत्येक महिनाको २७ गतेदेखि ३० गतेसम्म जेष्ठ नागरिकहरुको घरदैलोमै गई निःशुल्क आवश्यक आधारभूत औषधी वितरण, स्वाथ्य परीक्षण, उपचार तथा प्रेषण गरिने लक्ष्य राखिएको छ । कार्यक्रमको लागि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीमध्ये २२ जनालाई कार्यक्षेत्रमा खटाइने छ । सञ्चालित कार्यक्रमको प्रभावकारिताका विषयमा गाउँपालिकाले नियमित अनुगमन र मुल्याङ्कन गर्ने र जेष्ठ नागरिकहरुबाट आएका सुझाव तथा गुनासो संकलन गरी क्रमिक रुपमा कार्यान्वयन गरिने छ । कार्यक्रम सञ्चालनको लागि यस आर्थिक वर्षमा ८ लाख बजेट विनियोजन गरेको र उक्त बजेटबाटै जेष्ठ नागरिकहरुलाई आवश्यक पर्ने औषधीहरु खरिद गरिने योजना गाउँपालिकाले बनाएको छ ।
सुभारम्भ कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले कार्यक्रम सञ्चालन गर्न भन्दा पनि कार्यान्वयन गर्नु ठुलो कुरा भएकाले कार्यान्वयनका लागि राजनैतिक दल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी सबै लाग्नुपर्ने बताउनु भयो ।
Prem Silwal Audio
यस्तै फरक प्रसङ्गमा सिलवालले गाउँपालिकाले निकै राम्रा र महत्त्वपूर्ण काम गर्दै गएकाले केही अनलाईन मिडियाले यर्थाथ नबुझी गाउँपालिकालाई बदनाम गर्ने काम गरेको बताउदै सञ्चारकर्मीहरुलाई सही र तथ्यमा आधारित भएर समाचार संप्रेशण गर्न आग्रह गर्नुभयो ।
Prem Silwal Audio 2
यस्तै गाउँपालिका उपाध्यक्ष कमला शर्माले यस्ता खाले कार्यक्रमले समुदायमा रहेका जेष्ठ नागरिकहरुलाई संबोधन गर्ने राम्रो अवसर बन्ने र गाउँपालिका नजिकको सरकार भएको अनुभुति हुने बताउनु भयो ।
Kamala Sharma Audio
गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको जेष्ठ नागरिक स्वास्थ्य स्याहार सुभारम्भ कार्यक्रममा उपाध्यक्ष कमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मा, गाउँकार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु, पत्रकार, विभिन्न विषयगत शाखाका प्रमुखहरु लगायत गाउँपालिका भित्रका स्वास्थ्यकर्मी र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस