धादिङ जेष्ठ १९
नियमित पठन पाठन साथ साथै विभिन्न नयाँ नयाँ अतिरिक्त कृयाकलापहरुलाई जोड दिदै आएको धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी सिरान बजारमा रहेको विद्यालय धादिङ आवासीय माध्यमिक विद्यालयले आइतबारबाट दैनिक रुपमा सञ्चालन हुने गरी “योग विज्ञान शिविर” सुरु गरेको छ । विद्यार्थीहरुलाई शारीरिक व्यायाम, ध्यान, विभिन्न जडीबुटीहरुको ज्ञान, स्वस्थ रहने उपाय, कस्ता खानेकुराहरु पौष्टिक तत्वले भरिपूर्ण हुन्छन् ? कस्ता रोगहरुको घरेलु उपचार गर्न सकिन्छ ? भन्ने कुराको समग्र रुपमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको योग विज्ञान शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी, उनका अभिभावक, शिक्षक लगायत गरी करिब १ सय २० जनाको उपस्थिति रहेको थियो ।
बिहान दैनिक बिहान ४ बजेदेखि ६ बजेसम्म सञ्चालन भइरहेको शिविर पतञ्जली योग समिति धादिङसँगको सहकार्यमा आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक हरि लम्सालले बताउनु भयो । विगतका दिनहरुमा पनि विद्यालयले जिल्ला आर्युवेद अस्पतालसँगको सहकार्यमा विद्यार्थीहरुलाई योग शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । शारीरिक व्यायम, फुर्तिलो, निरोगी र तन्दुरुस्त बन्नको लागि “योग विज्ञान शिविर”मा सबै अभिभावक विद्यार्थी र शिक्षकहरुलाई सहभागिताको लागि विद्यालयले अनुरोध गरेको छ । कार्यक्रमको विद्यालय सञ्चालक समितिका अध्यक्ष बाबुराम अधिकारी र सञ्चालक समिति सदस्य कृष्ण प्रसाद दाहालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस