धादिङ फाल्गुण २१
ज्यान मार्ने मुद्धामा संलग्न फरार ५ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । यही पौष २४ गते धुनिबेसी नगरपालिका ४ धादिङकी ७५ वर्षीय सान्नानी सार्कीको हत्या गरि फरार भएका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा मकवानपुरका २५ वर्षीय अनिल थिङ भन्ने जयबहादुर सिंगार, खोटाङका ३२ वर्षीय साजन विक, ओखलढुङ्गाका अबिसराज कार्की रहेका छन् । त्यसैगरी, लुटिएको गर गहना खरिद गर्नेमा काभ्रे जिल्ला घर भइ हाल काठमाडौं कालिमाटीमा धनरत्न सुन चाँदी पसल सञ्चालन गर्दै आएका ४२ वर्षीय धन बहादुर कालिराज र सुन विक्रि गर्न सघाउने नुवाकोटकी ३३ वर्षीय पुष्पा कुमारी पौडललाई पक्राउ गरिएको हो । एसपी खड्काका अनुसार प्रतिवादीहरुले वृद्धाको ज्यान लिनुका साथै निजले लगाएको गरगहना समेत लुटेर लगेका थिए । लुटेर लगेको गरगहना ५० हजार ३ सय ८९ नगदमा विक्री गरी रकम भागबन्डा गरेको अनुसन्धानबाट खुलेको हो । प्रहरीको विशेष अनुसन्धानमा उनीहरु विभिन्न समय र ठाउँबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट सुनका गर गहना समेत प्रहरीले बरामद गरेको हो । प्रतिबादीहरु विरुद्ध मुलकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर र सोही संहिताको परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भैरहेको प्रहरी प्रमुख खड्काले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस