धादिङ २० फाल्गुण
गण्डकी समाज सभ्य समाज हामी सचेत छौँ अभियानको विद्यालय स्तरीय अभिमूखीकरण कार्यक्रम संस्कृत माध्यमिक विद्यालय तान्द्राङ गोरखामा उद्घाटन भएको छ । वर्तमान समाजमा विद्यमान समस्याहरुलाई युवापुस्तामार्फत समाधान गर्न गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग एवं भिमसेनथापा गाउँपालिका गोरखाको सहजीकरण र संकृत माध्यमिक विद्यालयको आयोजनामा भएको अभिमूखीकरण कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई समावेश गरिएको छ । प्रत्यक शुक्रबार १५ हप्तासम्म सञ्चालन हुने कार्यक्रममा समाजमा भएको विकृति विसंगतिहरुलाई हटाइ सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्य रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भिमसेनथापा गाउँपालिका वडा नं. ३ का अध्यक्ष लिलानाथ लामिछानेले तालिममा सिकेका विषयवस्तुलाई आत्मसात गर्दै समाजलाई सभ्य र सुसंस्कृत बनाउन प्रभावकारी भूमिका खेल्न जोड दिनुपर्ने बताउनु भयो ।
कार्यक्रमका प्रशिक्षक विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद लामिछानेले समाजका विद्यमान समस्याहरुको जानकारी दिई तालिमका प्रत्येक शेसनहरुमा प्रत्येक समस्याको कारण र समस्या समाधानको स्थानीय व्यवहारिक उपायहरु अवलम्बन गर्दै युवाहरु मार्फत समाज रुपान्तरण गरिने बताउनु भयो ।
शिक्षक चेत प्रसाद बन्जाराले सञ्चालन गर्नुभएको कार्यक्रममा सहायक प्रधानाध्यापक तारा सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा वडा अध्यक्ष लिलानाथ लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष केशरी प्रसाद खनाल, शिक्षक तथा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम समापन गर्दै व्यवस्थापन समिति अध्यक्ष लामिछानेले सहभागी विद्यार्थीहरुले अभिमूखीकरणमा समावेश विषयवस्तुहरुलाई आत्मसात गरी व्यवहारमा उतारेमा साच्चिकै समाज सुसंस्कृत एवं सभ्य हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस