कपिल जम्कट्टेल
धादिङ जेष्ठ १७
सुनगाभा एकेडेमीले शुक्रबार ओम शान्तिसँगको सहकार्यमा चेतनाको स्पर्श कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्रबन्ध निर्देशक रामहरि अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा ओम शान्तिका भागवत नेपालको प्रमुख आतिथ्यता तथा ब्रम्हाकुमारी राज योग सेवा केन्द्रका ब्रम्ह कुमारी नन्दा, रङ्गनाथ खरेल, निर्मला दाहाल र विद्यालयका प्रधानाध्यापक वद्रि लम्सालको विशेष आतिथ्यता रहेको थियो ।
किशोर अवस्थाका विद्यार्थीहरुलाई ध्यान र चिन्तनद्धारा आफूभित्रको सम्भावनालाई कसरी पहिचान गर्ने भन्ने विषयमा अभ्यास समेत गराइएको थियो । कार्यक्रममा आफूमा प्रेम, खुसी, आनन्द, आत्मविश्वास, सम्मान, अनुशासन, स्मरण शक्ति, धैर्यता, सहनशीलता जस्ता कुराहरुलाई बढाउन ध्यानको माध्यमद्धारा सहयोग पुग्ने कुरामा जोड दिइएको थियो । के बोल्ने, के नबोल्ने, के गर्न हुने के नहुने जस्ता कुराहरुलाई कथाको माध्यमद्धारा विद्यार्थीहरुलाई सचेत बनाइएको थियो । आफूमा सकारात्मक परिवर्तन ल्याउन के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ ? भन्ने कुरामा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको हो । उक्त कार्यक्रम हरेक हप्ताको एक दिन विद्यालयमै विद्यालय समयमा गराई विद्यार्थीहरुलाई जीवन र जगतको प्रशस्त ज्ञान प्रदान गर्ने निर्णय समेत भएको छ ।
प्रतिक्रिया दिनुहोस