धादिङ,११ फागुन ।
धादिङमा राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्यांक सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच तथ्यांक कार्यालय मकवानपुरका अधिकृत राजेश दासले २०७५ को तथ्यांक सार्वजनिक गर्नुभएको हो । धादिङमा आर्थिक क्रियाकलाप गर्ने १२ हजार ५१ वटा प्रतिष्ठानहरु रहेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्क कार्यालय मकवानपुरले राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक गर्ने क्रममा धादिङमा १२ हजार ५१ वटा प्रतिष्ठानहरु रहेको र जसमा बाग्मती प्रदेशको ४.२६ प्रतिशत रहेको जनाएको छ । धादिङको १३ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै प्रतिष्ठान नीलकण्ठ नगरपालिकामा संचालनमा रहेका छन् ।
देशका सातैवटा प्रदेशमध्ये बाग्मती प्रदेशमा ३१ प्रतिशत अर्थात २ लाख ८२ हजार ९ सय २० वटा प्रतिष्ठानहरु रहेका छन् । जसमध्ये १ लाख ४१ हजार ९ सय ४९ प्रतिष्ठानहरु दर्ता भएर सञ्चालनमा आएका छन् भने १ लाख ४० हजार ८ सय ६३ प्रतिष्ठानहरु विनादर्ता सञ्चालनमा छन् । बाग्मती प्रदेशमा रहेका प्रतिष्ठानहरुमा १२ लाख १८ हजार ४ सय ९७ जना कार्यरत रहेका छन् । बाग्मती प्रदेशका १३ वटा जिल्लामा सबैभन्दा बढी प्रतिष्ठान काठमाडौं १ लाख २५ हजार ४७ वटा प्रतिष्ठान र सबैभन्दा कम रसुवा जिल्लामा १ हजार ३ सय ७२ वटा प्रष्तिठानहरु रहेको जानाकारी दिइएको छ । तथ्यांक संकलनको काम २०७५ वैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म गरिएको र प्रत्येक स्थानमा पुगी सूचिकरण फारम र प्रश्नावली फारम भराई तथ्यांक संकलन गरिएको तथ्यांक कार्यालय मकवानपुरका अधिकृत राजेश दासले जानकारी दिनुभयो । तथ्यांक विभागले सार्वजनिक गरेको यो पहिलो राष्ट्रिय आर्थिक गणना हो ।
प्रतिक्रिया दिनुहोस