धादिङ,११ फागुन
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा फैसला गरेको छ । मंगलबार प्रधानन्याधिश चोलेन्द्र शमशेर राणासहित ५ सदस्यीय संवैधानिक इजलासले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा फैसला गरेको हो । झण्डै २ महिना लामो सुनुवाइपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन बदर हुने फैसला गरेको हो । फैसलासँगै सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउनुपर्ने फैसला पनि गरेको छ । संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित विभिन्न १३ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिनिधिसभा पुर्नस्थापनाको खुसियालीमा धादिङ सहित देशैभर दीप प्रज्ज्वलन गरिएको छ । धादिङको पुछारबजारस्थित मूलचोकमा नेकपा प्रचण्ड माधव समूहले दीप प्रज्ज्वलन सहित देश र जनताको पक्षमा सर्वोच्चको फैसला आएको भन्दै खुसियाली मनाएको छ ।
प्रतिक्रिया दिनुहोस