धादिङ जेष्ठ १६
वुढीगण्डकी जलाशययुक्त आयोजना प्रभावित उद्योग व्यवसायीहरुलाई न्यायोचित स्थानमा स्थानान्तरण गरी व्यवसायलाई स्थापित गर्नुपर्ने मागका साथ बिहिबार धादिङ उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय गौरवको वुढीगण्डकी जलासययुक्त आयोजनाले गोरखा र धादिङ जिल्लामा पर्ने आरुघाट बजार र धादिङको खहरे बजारका घर, जग्गा, बोट विरुवा र व्यवसायमा भएको लगानीको मुआब्जा निर्धारण नगर्दा उद्योग व्यवसाय सञ्चालन गर्नेहरुलाई समस्या परेको ज्ञापन पत्रमा भनिएको छ ।
व्यवसायीहरुले बैंकिङ कारोबार गरी कर्जा लिन नपाउने, विक्री वितरण गर्न नपाउने र मुआब्जा समेत समयमै नपाउँदा व्यवसायी मर्कामा परेको भन्दै उद्यमी व्यवसायीहरुको मागलाई मध्यनजर गरी छिटो भन्दा छिटो मुआब्जा निर्धारण गर्न अनुरोध गरिएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा आरुघाट र खहरे बजार क्षेत्रका उद्योग व्यवसायमा लगानी भएका पूर्वाधार समेतको न्यायोचित मूल्य निर्धारण गर्नुपर्ने, परियोजना प्रभावित क्षेत्रका उद्योग व्यवसायलाई उचित स्थानमा स्थानान्तरण गरी व्यवसायलाई स्थापित गर्नुपर्ने, परियोजनाको क्षमता १२ सय मेगावाटकै क्षमतामा निर्माण गरिनुपर्ने माग राखिएको छ ।
प्रतिक्रिया दिनुहोस