धादिङ ०१ फागुन
धादिङ जिल्लाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्त्वको गंगाजमुना झरना तथा गंगाजमुना माई मन्दिर निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले ३ करोड ५० लाख बजेट बिनियोजन गरेको छ । गंगाजमुना पर्यटन पुर्वाधार क्षेत्र विकास परियोजना नाम दिइएको उक्त परियोजनाको डिपिआर निर्माण गरी गाउँपालिकाले १ करोड ५० लाख विनियोजन गर्ने गरी मन्त्रालयमा बजेट माग गरिएको बताउदै गाउँपालिका अध्यक्ष बल बहादुर अधिकारीले बजेट विनियोजन गरेकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई विशेष धन्यवाद दिदै तत्कालै मन्दिर परिसरमै सरोकारवालाहरुको छलफल बोलाएर तत्काल ५ करोड बजेटले के के पूर्वाधार निर्माण गर्न सकिन्छ निक्र्याेल गरी कार्यान्वयनको चरणमा जाने बताउनु भयो । गंगाजमुना गाउँपालिका वडा नं. ५ मा रहेको गंगाजमुना माई मन्दिरमा हरेक वर्षको हरिबोधनी एकादशीका दिन भव्य मेला लाग्ने गर्दछ । गंगा र जमुना २ वटा झरना मुख्य आकर्षक रहेको यस पर्यटकीय र धार्मिक स्थलमा २ हजार ८ सय मिटर उचाइृमा रहेको पहरोबाट खसेको गंगाजमुना झरनालाई हिमालय पुराणमा दिदी बहिनीको रुपमा वर्णन गरिएको पाईन्छ ।
गंगा जमुना झरना नजिकै अर्को धारा छ, जसलाई स्थानीयहरु कुकुर धारा भन्ने गर्दछन् । यस धारा गणेशको आँशुबाट बगेको यसमा कीट नाशक गुण समेत भएको विश्वास गरिन्छ । उक्त कुकुर धारामा नुहाए कुकुर वा जीव जन्तुले टोकेको विष हटेर जाने जन विश्व रहिआएको छ । यसै झरना मिसिएर भारतमा पुगी प्रसिद्ध गंगा नदी बनेको र यहाँको गंगा जमुनाले जस्तै त्यहाँ गंगा र यमुनाले प्रसिद्धि कमाएको बताईन्छ ।
प्रतिक्रिया दिनुहोस