सुशिला विश्वकर्मा
धादिङ,२९ माघ ।
विस्तारै डाँडा पारिबाट घाँम डुब्दै थियो । मेरो मोबाईल र हातले सम्झना रिजाल नाम गरेको व्यक्तिलाई फोन लगाउदै थिए । मैले नत उहाँलाई चिनेको नै थिए नत देखेको नै । बस यत्ति मात्रै थाहा थियो कि उहाँ एक अपाङ्गता भएको व्यक्ति हो र उहाँलाई कोरोना पोजेटिभ देखिएको थियो । उहाँलाई भेट्न जानु अघि मेरो मनमा कतै मै पो संक्रमित छु कि? अथवा मलाई पनि सर्ने त होईन? भन्ने अनेकौ प्रश्न उब्जिरहेको थियो । तर पनि मनमा एक विश्वासका साथ उहाँ बस्ने कोठामा गएँ । उहाँको काँखमा सानी एक छोरी थिईन् ।
घाँमको डुबुल्कीसँगै हामीबीच कुराकानी सुरु भयो । मैले प्रश्न गर्न नभ्याउदै उहाँले भन्नुभयो “मैले आफू कोरोना संक्रमित हुँदा भोगेको त्यो पीडा सम्झिदा अझै पनि आँखा बाट आँसु खस्छ । धादिङको नीलकण्ठ नगरपालिकामा गत असोज २८ गते एकैदिन ९७ जनामा कोरोना भाईरस पुष्टि भयो । त्यसअघि असोज २७ गते नीलकण्ठ नगरपालिकामा १ सय ७३ संक्रमित पुगिसकेको थियो । त्यत्ति धेरै संक्रमितहरु मध्येकी एक संक्रमित थिईन २३ वर्षीय सम्झना रिजाल ।
उहाँ शारीरिक रुपमा अपाङगता हुनुहुन्छ । उहाँ ९ महिनाको हुँदा उहाँमा पोलियो देखियो । विस्तारै विस्तारै उहाँको एउटा खुट्टाले काम गर्न छोड्यो । उपचारको लागि धेरै अस्पताल पनि धाउनु भयो । त्यस समयदेखि अहिले सम्म निरन्तर रुपमा चेकजाँच गरेर औषधि खादै आईरहहेको सम्झना रिजाल बताउनु हुन्छ । हुन त कोभिड १९ को महामारी फैलिएको पनि लगभग लगभग एक वर्ष हुनै लाग्यो तर अझै पनि खुलेआम भएर हिड्न सक्ने अबस्था भने अझै छैन ।
उनी शिक्षिका पनि हुन् । उनको पनि पिसिआर परीक्षण गरियो । गत असोज २८ गते सम्झनालाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट साँझ ६ बजेतिर आयो । उनी शारीरिक रुपमा अपाङगता भएकोले एउटै आधार थियो आफ्नो श्रीमान् । श्रीमानको पनि पिसिआर परीक्षण गरियो । श्रीमान्को पनि कोरोना रिपोर्ट पोजेटिभ आयो । आँखाभरी आसु टिल्पिलाउदै सम्झना भन्छिन् “एकअर्काको आधार रहेका श्रीमान श्रीमती दुबैको रिपोर्ट पोजेटिभ आएको खबर सुन्दा म निशब्द भएँ ।” उहाँको २ वर्षको सानो छोरी छिन् । दुबै जना संक्रमित हँदा छोरीलाई पनि लाग्न सक्छ भन्ने चिन्ताले मन पोलिरहेको थियो ।
जब हामी दुबै श्रीमान श्रीमतीलाई कोरोना पुष्टि भएको थाहा भयो त्यसपछि ओल्लोपल्लो कोठका छिमेकीहरुले तुच्छ व्यवहार देखाउन थाले । मलिनो स्वरमा सम्झना भन्छिन् “पल्लो कोठामा बस्ने दाइ रक्सी खाएर आउनु भएको रहेछ । आउने वित्तिकै हामीलाई तिमीहरु निस्किहाल हामीलाई पनि रोग सार्छौ तिमिहरुले, कि त हामी निस्किन्छौं भनेर भन्नु भयो ।” कोरोना पोजेटिभको रिपोर्ट र छिमेकीको तुच्छ व्यवहारले रात छिप्पेको पनि पत्तै भएन सम्झनालाई । काँखको सानो बच्चा च्यापेर कहाँ जाने मध्यरातमा ? त्यो रात छटपटीमा नै बित्यो सम्झनाको । उनको माईती पुच्छारबजार हो । ती बितेका कुरालाई सम्झिदै भन्छिन् “बिहान ५ बजे उठेर माईतीमा बच्चा छाडी नीलकण्ठ नगरपालिकाले कृषि ज्ञान केन्द्रमा बनाएको आईसोलेसनमा गयौं ।”
आँखा बाट बग्दै गरेको आँसु पुच्छ््दै भनिन् “रातभरिको अनिदो र चिन्ताले गर्दा खुट्टाले पनि पाईला चाल्न हार मानिसकेको थियो । बल्लतल्ल आट गरेरै भए पनि पाईला बढाएँ । बाटोमा कतिपयले हामीलाई मान्छे मारेर नै आएको जस्तो व्यवहार देखाए । ”
जुन व्यवहारले गर्दा अझै पनि आफूले मानसिक समस्या झेलिरहेको रिजाल बताउनु हुन्छ । आईसोलेसनमा त पुगिन् तर अपाङगता भएका व्यक्तिको लागि नत आईसोलेशन अपाङगता मैत्री थियो न त सौचालय नै । खानेपानीदेखि लिएर सबै आफै गर्नुपर्ने थियो । खुट्टाले नसक्दा नसक्दै पनि तल्लो तलाबाट माथिल्लो तल्लासम्म काँधमा जारको पानी बोकेर ल्याउनु परेको सम्झना बताउछिन् । १० दिनसम्म आईसोलेसनको कष्ठकर जीवन कटाएर कोरोना रिपोर्ट नेगेटिभ आएपछि सम्झना घर फर्किईन् । उनी भन्छिन् “सरकारले बनाएको आईसोलेसनमा गएर बस्दा केही सेवा सुविधा पाईएला भनेर गएको तर त्यहाँ त कसैको साहारा नपाईने रहेछ । सबै आईसोलेसनहरु अपाङगता मैत्री नहुँदा अपाङगता भएका व्यक्तिहरुको लागि क्वारेन्टाईन र आईसोलेसन निकै कष्ठकर हुने सम्झनाको भनाई छ । आफुले भोगेका ती तिता पलहरुलाई केलाउदै अपाङगता भएका व्यक्तिहरुलाई स्थानीय तहले चासो दिए यस्तो कष्ठकर जीवन जिउन नपर्ने सम्झना बताउछिन् ।
प्रतिक्रिया दिनुहोस