धादिङ २३ माघ
प्रधानमन्त्री ओलीको लहैलहैमा लागेर संविधान हस्तक्षेप गर्ने मतियारको रुपमा राष्ट्रपति उपस्थित भएको नेकपा प्रचण्ड माधव समूहका नेता योगेश भट्टराईले आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले दिनदहाडै संविधानमाथि हस्तक्षप गर्दा राष्ट्रपति भण्डारीले एक शब्द प्रश्न नउठाई उल्टै सहयोगी भूमिका निर्वाह गरेको भट्टराईले बताउनु भयो । शुक्रबार प्रचण्ड नेपाल समूहले धादिङबेसीमा गरेको बृहत बिरोध सभालाई संबोधन गर्दै भट्टराईले सो कुरा बताउनु भएको हो ।
सभाका प्रमुख अतिथि रहेका भट्टराईले प्रधानमन्त्री ओलीले बैशाखमा चुनाव घोषणा गरेता पनि कुनै हालतमा चुनाव नहुने जिकिर गर्दै असंवैधानिक र प्रतिगामी कदमलाई ढाक छोप गर्न चालिएको प्रपन्च भएको ठोकुवा गर्नुभयो ।
नेपाली काङ्ग्रेसलाई कम्युनिष्ट पार्टीको बिचमा बिबाद भएपछि चुनाव जितिन्छ भनेर ढुक्क नहुन आग्रह गर्दै नेता भट्टराईले बैशाखमा चुनाव होइन केपी ओलीलाई जनताले सडकमा पछार्ने चेतावनी दिनुभयो ।
तत्कालीन राजा महेन्द्र, ज्ञानेन्द्रको नयाँ अवतारको रुपमा केपी ओली प्रस्तुत भएको बताउँदै नेता भट्टराईले नेपाली जनताको ठुलो त्याग र बलिदानीबाट प्राप्त संविधानको हत्या गरेको बताउनुभयो ।
नेकपा प्रचण्ड नेपाल समूह धादिङले आयोजना गरेको बृहत बिरोध ¥यालीसहितको सभामा नेकपा स्थायी कमिटी सदस्य एवं निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यता तथा नेकपा केन्द्रीय नेताहरु विष्णुपुकार श्रेष्ठ, पुष्प विक्रम मल्ल, गङ्गालाल तुलाधर, शालिकराम जम्कट्टेल, कल्पना धमला लगायतको आतिथ्यता रहेको थियो । बिरोध सभाका लागि धादिङका १३ वटै पालिकाबाट हजारौँको सङ्ख्यामा नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ता तथा सुभचिन्तकहरु आएका थिए ।
प्रतिक्रिया दिनुहोस