धादिङ २१ माघ
केपि ओली नेतृत्वको सरकारले असंवैधानिक रुपमा विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको बिरोधमा धादिङमा बुधबार साँझ भएको मसाल जुलुसमा प्रहरीको लाठीचार्जबाट नेकपा प्रचण्ड नेपाल समूहका धादिङ जिल्ला कमिटी सदस्य लक्ष्मण रम्तेल गम्भीर घाइते भएका छन् । रम्तेलको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते रम्तेललाई तत्कालै काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको नेकपा धादिङका सचिव बिजय बुर्लाकोटीले जानकारी दिनुभयो । शान्तिपूर्ण रुपमा निकालिएको जुलुसमा भएको प्रहरी धरपकडको निन्दा गर्दै सचिव बुर्लाकोटीले प्रहरी दमन बन्द गर्न चेतावनी समेत दिनुभयो । शान्तिपूर्ण रुपमा मसाल जुलुस समापन गर्ने क्रममा प्रहरी दमनको बिरोध गर्दा केही समय झडप समेत भएको थियो । सिरानबजारबाट सुरु भएको जुलुस पुछारबजारमा आएर समापन भएको छ । जुलुसमा सयौँको संख्यामा नेकपा प्रचण्ड माधव समूहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यस्तै संबैधानिक निकायका पदाधिकारी नियुक्तिको बिरोध भोली नेकपा प्रचण्ड नेपाल पक्षले देशभर आम हड्तालको घोषणा समेत गरेको छ । नेकपा प्रचण्ड माधव समूह केपि ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनको बिरुद्धमा आन्दोलनमा होमिएको छ ।
प्रतिक्रिया दिनुहोस