धादिङ १९ माघ
धादिङमा सोमबार १ सय ६७ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । सोमबार रुवीभ्याली, खनियावास, गंगाजमुना, थाक्रे र धुनिवेशी नगरपालिकाका स्वास्थ्यकर्मीहरु मध्ये १ सय १३ महिला र ५४ जना पुरुषले खोप लगाएका हुन् । माघ १४ गतेबाट सुरु गरिएको पहिलो चरणको खोप अभियानमा हालसम्म धादिङ जिल्लाभर ७ सय ६३ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यलय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी दिनुभयो । अहिलेसम्म खोप लगाएका व्यक्तिहरूमा कुनै किसिमको स्वास्थ्य समस्या नदेखिएको पौडेलले बताउनुभयो । धादिङ जिल्लाको लागि प्रदेश सरकारमार्फत कोरोना बिरुद्धको कोभिशिल्ड नामक भ्याक्सिन १ हजार ३ सय ४० डोज प्राप्त भएको थियो । कोभिड नियन्त्रण, रोकथाम र उपचारमा फ्रन्टलाईटनमा खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स् चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनका कर्मचारीहरुलाई पहिलो चरणमा खोप दिन सुरु गरिएको हो । एम्बुलेन्स् चालक, सरसफाईकर्मी र शव व्यवस्थापनको लागि २० गते र अत्यावश्यक कारणले छुट भएका व्यक्तिहरुलाई २४ गते खोप लगाइने छ ।
प्रतिक्रिया दिनुहोस