धादिङ १६ माघ
भौगोलिक रुपमा बिकट बस्ती उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका वडा नं. २ तावलमा सार्वजनिक यातायात सेवा विस्तार भएको छ । धादिङबेसीबाट अन्दाजी ७० किलोमिटर दुरी रहेको उक्त बस्ती साबिकको री गाविसमा पर्दछ । तत्कालिन जिल्ला विकास समितिको बजेटबाट सडक निर्माण कार्य सुरु भएको उक्त बस्तीमा स्थानीय सरकार निर्वाचन पश्चात गङ्गाजमुना गाउँपालिकाको विशेष पहल र प्राथमिकतामा सडक विस्तार कार्यले निरन्तरता पाएको हो । बिहिबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले धादिङ मण्डली यातायात प्रालिद्धारा सञ्चालित बसलाई स्वागत गर्दै औपचारिक रुपमा सार्वजनिक यातायात सुचारु भएको घोषणा गर्नुभएको हो ।
सुभारम्भ कार्यक्रममा अध्यक्ष अधिकारीले आफूले निर्वाचनमा जनतासँग भोट माग्दा गरेको बाचा पुरा भएकोमा खुसी व्यक्त गर्दै स्थानीयलाई सडकको थप क्षमता विकास गर्नको लागि गाउँपालिकाले बजेट विनियोजनमा कुनै पनि कन्जुस्याई नगर्ने प्रतिबद्धता समेत जनाउनु भयो । यस्तै यसै वर्ष वडा नं. १ को ताजिम्राङसम्म नै यातायात सेवा विस्तार गर्ने योजना रहेको समेत बताउनु भयो ।
कार्यक्रमलाई संबोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले सडकलाई थप व्यवस्थित र दिगो बनाउन र यसको संरक्षण गर्ने तथा रेखदेख गर्ने जिम्मा स्थानीयको नै रहेको बताउदै सडकलाई नियमित रुपमा सञ्चालन गर्नका लागि गाउँपालिकाले गर्नपर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
वडा नं. २ का अध्यक्ष फैसिङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीको प्रमुख आतिथ्यता प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाको विशेष आतिथ्यता, वडा नं. १ का अध्यक्ष बहादुर तामाङ, वडा नं. ४ का अध्यक्ष हरिमान शाक्य, वडा नं. ५ का अध्यक्ष रामचन्द्र अधिकारी, वडा नं. ६ का अध्यक्ष भक्त बहादुर लामिछाने, स्थानीय पार्टी प्रतिनिधि, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
सडक निर्माण कार्य सुरु भएको करिब ८ वर्षपछि गाउँमै सार्वजनिक यातायात सेवा पुगेपछि स्थानीयहरुमा खुसी छाएको छ । साना सवारी साधनहरु सञ्चालनमा आएता पनि भाडादर अत्यन्तै महङ्गो हुने र नियमित रुपमा सञ्चालनमा नआउने कारण स्थानीयहरुलाई समस्या परेको थियो । काठमाडौँबाट रु. ७ सय ५० भाडादर कायम गरिएको काठमाडौँ फूलखर्कदेखि , चिमचोक, लताब, धुसेनी हुँदैतावलसम्म दैनिक रुपमा सार्वजनिक यातायात सञ्चालन हुने धादिङ मण्डली यातायातका सञ्चालक छविलाल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस