कपिल जम्कट्टेल
धादिङ जेष्ठ १५
१२ औँ गणतन्त्र दिवसको अवसरमा सुनगाभा एकेडेमी धादिङले विद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रमको आयोजना गरेको छ । संघीय गणतन्त्र आजको आवश्यकता र गणतान्त्रिक शासन जनताको पहिचान भन्ने शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा कक्षा ६ देखि ९ सम्मका ३१ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । विद्यार्थी आयुष राना मगरको सभापतित्वमा सम्पन्न वक्तृत्वकला कार्यत्रममा विद्यालयका प्रधानाध्यापक वद्रि लम्सालको प्रमुख आतिथ्यता, सहायक प्रधानाध्यापक गोकर्ण अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।
विद्यालयका शिक्षकहरु पार्वती श्रेष्ठ, दिपक केसी र कर्ण क्षेत्रीको निर्णायक भूमिका रहेको प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत छात्रा पार्वती गुरुङ प्रथम, कक्षा ६ मा अध्ययनरत छात्र पङ्कज दुवाडी द्धितीय र कक्षा ८ मा अध्ययनरत छात्रा मनिता गुरुङ तृतीय हुन सफल भएका थिए । विजयी विद्यार्थीहरुलाई शैक्षिक सामग्रीद्धारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक वद्रि लम्सालले सुनगाभा एकेडेमीले नेपालको हरेक राष्ट्रिय पर्व तथा दिवसहरुमा कुनै न कुनै कार्यक्रम गर्दै आएको र यस्ता खाले प्रतियोगिताले विद्यार्थीहरुको वाक क्षमतामा थप निख्खारता ल्याउने विश्वास लिएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस