धादिङ १४ माघ
नेपालमा बुधबार कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । कोभिड नियन्त्रण, रोकथाम र उपचारमा फ्रन्टलाईटनमा खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स् चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनका कर्मचारीहरुलाई पहिलो चरणमा खोप दिन सुरु गरिएको छ । धादिङमा जिल्ला अस्पतालका प्रमुख डा. त्रिभुवन चन्द्र झा र स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले कोभिड विरुद्धको खोप लगाएर कार्यक्रमको सुभारम्भ गरेका हुन् । धादिङ जिल्लाका फ्रन्टलाईनमा खटिने व्यक्तिहरुलाई जिल्ला अस्पताल धादिङबाट खोप दिन सुरु गरिएको हो ।
बुधबार नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका, सिद्धालेक गाउँपालिका र धादिङ अस्पतालमा रहेका फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरु गरी २ सय डोज खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो । नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी, बेनिघाट रोराङ, गजुरी र गल्छी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई १५ र १८ गते, रुवीभ्याली, खनियावास, गंगाजमुना, धनिवेशी र थाक्रे गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई १६ र १९ गते, एम्बुलेन्स् चालक, सरसफाईकर्मी र शव व्यवस्थापनको लागि २० गते र अत्यावश्यक कारणले छुट भएका व्यक्तिहरुलाई २४ गते खोप लगाइने छ । अहिले सरकारले फ्रन्टलाईनमा खटिने व्यक्तिहरुलाई केन्द्रित गरेर पहिलो चरणको खोप लगाउन सुरु गरेको हो । धादिङमा पहिलो चरणको खोपका लागि १ हजार ३ सय ४० डोज खोप प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस