धादिङ ०७ माघ
त्रिपुरासुन्दरी गाउँपालिका धादिङको वडा नं. १ सल्यानटारमा बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण रेडियो बिहानी ९७.६ मेगाहर्ज र रेडियो धादिङ १०६ मेगाहर्जले गरेका थिए । गत आर्थिक वर्षका विकासका कार्यक्रमहरुको समीक्षा चालु आर्थिक वर्षमा बिनयोजित बजेटको प्रभावकारीता एवं सेवाग्राही र सेवाप्रदायकबिचको सम्बन्ध तथा वडा र गाउँपालिकाबाट नागरिकहरुले प्राप्त गरेको सेवा प्रवाह कत्तिको चस्त दुरुस्त छ भन्ने विषयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो । वडा नं. १ का अध्यक्ष भोज बहादुर रिजालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सम्भु कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष देवी कुमारी बुर्लाकोटीको विशेष आतिथ्यता रहेको थियो । यस्तै प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनी, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरुले वडा कार्यालय भवन निर्माण नभएको, विकास निर्माणका बजेट विनियोजनमा १ नम्बर वडालाई प्राथमिकतामा नराखेको, सडकहरु आवश्यकता अनुसार स्तरोन्नति नभएको, फोहोर व्यवस्थापन, पार्क निर्माण, खेलकुद मैदान लगायतका महत्त्वपूर्ण क्षेत्रहरुमा बजेट विनियोजन गर्न माग गरेका थिए । सेवाग्राहीको जिज्ञासालाई वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष र अध्यक्षले क्रमश संवोधन गर्नुभएको थियो ।
बुधबारदेखि सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रम क्रमशः ७ वटै वडामा पालै पालो सम्पन्न गरेर माघ १४ गते गाउँपालिकास्तरमा गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस