धादिङ जेष्ठ १४
गणतन्त्र दिवसको पूर्वसन्ध्यामा नीलकण्ठ बहुमुखी क्याम्पस धादिङले मङ्गलबार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा क्याम्पसका प्राध्यापक, विद्यार्थी, राजनैतिक दलका नेतृत्व, समाजसेवी र स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । जम्मा ८१ जनाले रक्तदान गरेको कार्यक्रममा ३० जना महिला र ५१ जना पुरुष रहेका थिए ।
नीलकण्ठ बहुमुखी क्याम्पसकोे आयोजना तथा युवा रेडक्रस सर्कल निलकण्ठ बहुमुखी क्याम्पसको सह–आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका उपमेयर मनराज भण्डारी, काङ्ग्रेस धादिङका नेता एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामनाथ अधिकारी, उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रुद्र बहादुर खत्री लगायतले समेत कार्यक्रममा रक्तदान गर्नुभएको थियो । देशभर भैरहेका रगत अभावलाई कम गर्न यस्ता खाले कार्यक्रमहरु सञ्चालन गर्दै आएको तथा रेडक्रस धादिङले २ हजार पाउण्ड रगत सङ्कलन गर्ने लक्ष्यका साथ अगाडि बढेको रेडक्रसकर्मी एवं स्वयमसेवी रक्तदाता नारायण कुमार श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस