धादिङ २९ पुष
नीकलण्ठ नगरपालिका धादिङले अभिभावकविहीन भएका बालबालिकाहरुलाई मासिक भत्ता वितरण गर्ने भएको छ । बागमति प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अभिभावक विहीन बालबालिकाहरुको संरक्षणको लागि मासिक रुपमा दुई हजार रुपैँया भत्ता उपलब्ध गराउन बजेट पठाएपछि नीलकण्ठ नगरपालिकाले अभिभावकविहीन बालबालिकाको लगत संकलन गरेको छ । बागमती प्रदेश सरकारले अभिभावकविहीन बालबालिकाहरुलाई मासिक रुपमा रु. २ हजार भत्ता दिने निणर्य गरेको र नगरपालिकालाई बजेट पनि निकासा भएको कारणले गर्दा त्यही रकम वितरण गर्नको निम्ति लगत संकलन गरेको नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले बताउनु भएको छ ।
अभिभावक विहीन बालबालिकाले आमा बुबा नभएको महशुश नहोस् र उनीहरुको पढाईमा समस्या नहोस् भन्ने उद्धेश्यले पनि मासिक भत्ता दिन लागेको उपमेयरलने भण्डारीले बताउनु भयो । साथै बालबालिकाहरुको खाता संचालन नहुने हुनाले त्यस्ता बालबालिकाहरुलाई वडा कार्यलय मार्फत् अथवा नगरपालिकाको आर्थिक प्रशासन शाखा मार्फत् पनि वितरण गर्न सक्ने बताउनु भएको छ । नगरपालिकाले जति बालबालिकाहरु अभिभावक विहीनहरु छन् उनीहरुलाई भत्ता वितरण गर्ने बताउनु भयो ।
नगरपालिकाले लक्षित वर्गका बालबालिकाहरुको तथ्यांक संकलन गरिसकेको छ । १८ वर्ष मुनिका आमा बुबा गुमाएका बालबालिकालाई भत्ता दिनको लागि तथ्यांक संकलन गर्न थालेको हो । नगरपालिकाको सबै वडामा पत्रचार गरेर आमा बुबा गुमाएका जम्मा ८ जनाको मात्रै नाम आएको महिला निरिक्षक निर्मला केसीले बताउनु भयो । साथै प्रदेश बाट रकम कम आएकोले अहिले नीलकण्ठ नगरपालिकाले चौमासिक रुपमा चार जना भन्दा बढिलाई भत्ता वितरण गर्न नसक्ने बताउनु भयो । प्रदेश सरकारले आमा बुबा दुबै गुमाएका बालबालिकाहरुलाई मात्रै भत्ता दिने भनेर प्रदेश बाट रु. ९६ हजार मात्रै आएकोले आमा बुबा दुबै गुमाएका बालबालिकालाई दिने केसीले बताउनु भएको छ । आमा बुबा दुवैको मृत्यु, दुबै बेपत्ता वा दुबैको संरक्षण र रेखदेखबाट बञ्चित भई अरुको संरक्षणमा रहेका बालबालिकाले मात्र भत्ता पाउने छन् ।
प्रतिक्रिया दिनुहोस