धादिङ पौष २९
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १४ धुवाकोट र वडा नं. ५ फ्याक्सेमा माघेसङ्क्रान्तिको दिन गोरु जुधाई कार्यक्रम हुने भएको छ । संस्कृति संरक्षण तथा पर्यटन प्रबद्र्धन केन्द्र धुवाकोट, भङ्गेरीस्थानको आयोजना तथा भङ्गेरीस्थान युवा क्लबको सह आयोजनामा हुन लागेको कार्यक्रममा १८ हल गोरु जुधाइने आयोजक संस्थाका अध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिनुभयो । यस्तै चमेरे गुफा संरक्षण समाजको आयोजनामा हुन लागेको ७ औँ गोरु जुधाई महोत्सव एवं विविध सांस्कृतिक कार्यक्रममा १० हल गोरु जुधाइने संरक्षण समाजका दिपक श्रेष्ठले जानकारी दिनुभयो । धुवाकोटमा हुने गोरु जुधाई प्रतियोगितामा प्रतिस्पर्धी गोरुहरुलाई ३ समूहमा वर्गीकरण गरिएको बताउदै श्रेष्ठले पहिलो समूहको बिजेतालाई १२ हजार उपविजेतालाई १० हजार, दोस्रो समूहको विजेतालाई १० हजार उपविजेतालाई ८ हजार र तेस्रो समूहको विजेतालाई ७ हजार र उपविजेतालाई ५ हजार पुरस्कार प्रदान गरिने बताउनु भयो । यस्तै फ्याक्सेमा हुने सातौँ गोरु जुधाइ महोत्सवमा विजेता गोरुलाई ६ हजार र उपविजेतालाई ३५ सय रुपैया पुरस्कार प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस