धादिङ जेष्ठ १४
न्यु धादिङ बोर्डिङ स्कुलले मङ्गलबार अभिभावकहरुका लागि अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरेको छ । बालबालिकाहरुलाई घरमा कसरी शैक्षिक वातावरण निर्माण गर्ने, विद्यार्थीहरुको शैक्षिक सुधारमा शिक्षक, अभिभावक र विद्यार्थीहरुको भूमिका के हुने ? बालबालिकाहरुको समग्र व्यवहार परिवर्तन गर्न के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ ? भन्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त प्रशिक्षक ईश्वर श्रेष्ठले अभिभावकरुका साथै विद्यार्थीहरुलाई समेत प्रशिक्षण दिनुभएको थियो । शिक्षण कृयाकलापलाई विद्यार्थीहरुको रुची अनुरुप ढाल्न र वैज्ञानिक पद्धतिद्धारा शिक्षण गर्न के कस्ता सीप तथा उपाय अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षक श्रेष्ठले अभिभावकहरुलाई प्रशिक्षण दिनुभएको हो ।
न्यु धादिङ बोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, गणेश हिमाल क्याम्पसका निर्देशक एवं विद्यालय सञ्चालक समिति सदस्य भुपेन्द्र कुमार श्रेष्ठ, गणेश हिमाल क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं विद्यालय सञ्चालक समिति सदस्य गोविन्द कुमार श्रेष्ठ, विद्यालयका निर्देशक एवं गणेश हिमाल क्याम्पसका क्याम्पस प्रमुख ईश्वरी प्रसाद पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
कक्षा नर्सरीदेखि कक्षा ८ सम्मका करिब १५० अभिभावकहरु रहेको अभिभावक शिक्षा कार्यक्रममा प्रशिक्षक श्रेष्ठले विद्यार्थीहरुलाई कसरी खुसी हुने, निरोगी हुने, सन्तुष्ट हुने र उच्च ज्ञान सीपको सोचाइ विकास गर्ने भन्ने कुराको बारेमा प्रशिक्षित पार्नुभएको थियो । सुरुमा सामान्य कुराहरुको ज्ञान लिने, नियमित रुपमा विद्यालय उपस्थित हुने, कठिन तथा नबुझेका कुराहरु शिक्षकहरुलाई सोध्ने जस्ता कुराहरु समेत प्रशिक्षणको क्रममा श्रेष्ठले राख्नु भएको थियो । विद्यार्थीलाई हप्काउने, गाली गर्ने, पिट्ने, मानसिक तनाव सिर्जना गर्ने, डर देखाउने जस्ता व्यवहार नगरी मायालु वातावरणमा उनीहरुको गल्ती कमजोरीलाई सुधार गर्दै शिक्षणप्रति आकर्षित गर्नुपर्ने प्रशिक्षक श्रेष्ठले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका निर्देशक एवं गणेश हिमाल क्याम्पसका क्याम्पस प्रमुख ईश्वरी पाण्डेले घर नै विद्यार्थीहरुको पहिलो पाठशाला भएकाले अभिभावकहरुले विद्यार्थीहरुलाई घरमा राम्रो शैक्षिक वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद दाहालले विद्यार्थीहरुको शैक्षिक सुधार गर्न ३ खुट्टा –विद्यार्थी, अभिभावक र शिक्षक)को त्रिकोणात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । शिक्षा विकास तथा समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले धादिङ बोर्डिङ जिल्लाकै नमूना र उत्कृष्ठ विद्यालय रहको तथा यस्ता खाले अभिभावक शिक्षा कार्यक्रम विद्यालयले सुरुवात गर्दा अत्यन्तै खुसी भएको बताउँदै विद्यार्थीको शैक्षिक सुधारमा अभिभावक र अभिभावकको शिक्षा महत्त्वपूर्ण हुने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस