धादिङ २४ पौष
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मा जोगिमारा सामुदायिक सिकाई केन्द्रको ७ औँ साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको साधारण सभामा प्रतिव्यक्ति रु. ५ सय बराबरको स्टेशनरी सामाग्री ३५ जना बालबालिकालाई वितरण पनि गरिएको छ । जोगिमारा सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष चन्द्र कुमारी लायो मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुरेश मल्लको प्रमुख आतिथ्यता रहेको थियो । विशेष अतिथिहरुमा शिक्षा खेलकुद शाखाका प्रतिनिधी माया कुमारी ढकाल, महिला तथा बालबालिका शाखाका प्रमुख पुजा खनाल, अतिथिहरु तिलक चेपाङ, हाईवे स्पोर्ट क्लबका अध्यक्ष विनोद शाह लगायत छिमेकी विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । जोगिमारा सामुदायिक सिकाई केन्द्रले २०७६÷०७७ को कार्यक्रममा ६० जनालाई सिलाई कटाई तालिम दिईएको, सिटिईभिटी र गाउँपालिकाबाट सहयोग प्राप्त भएको शंखदेवी माध्यामिक विद्यालयका शिक्षक तिलक चेपाङले जानकारी दिनुभयो । साथै उक्त सामुदायिक केन्द्रमा अहिले सिलाई सिक्न चाहाने व्यक्तिहरुको लागि २० वटा सिलाई मेसिन पनि राखिएको चेपाङले बताउनु भयो ।
जोगिमारा सामुदायिक सिकाई केन्द्रले मुख्य गरी एकल महिला, दलित, सिमान्तकृत वर्ग, अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर व्युटिसिएन तालिम संचालन गर्दै आएको छ । कार्यक्रमकै अवसरमा उक्त सिकाई केन्द्रका पदाधिकारी समेत चयन गरिएको छ । नवगठित पदाधिकारीहरुमा अध्यक्षमा विनोद शाहलाई चयन गरिएको छ । सदस्यहरुमा सुरेश मल्ल, माया कुमारी ढकाल, तिलक चेपाङ, सन्तोष धरेल, हरिमाया शाही, सुनिता बस्नेत, गोमा पोखरेल र रित गिरीलाई चयन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै चेपाङले १३ वटा स्थानीय तह मध्ये ५० वटा गाविसमै सामुदायिक सिकाई केन्द्र रहेको तर प्रभावकारी ढङगले काम गर्न नसकेको बताउनु भएको छ । हाल शिक्षा विकास तथा समन्वय ईकाई धादिङले आफ्नो अधिकार भन्दा बाहिर सिकाई केन्द्रहरु रहेकाले अनुगमन गर्ने जिम्मा स्थानीय सरकारलाई दिईएको बताउनु भयो । साधारण सभाको उद्घाटन वडा नं. ९ का अध्यक्ष सुरेश मल्लले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस