धादिङ २४ पौष
केपि ओली कम्युनिष्ट इतिहासकै ध्रुवे हात्ती भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य गङ्गालाल तुलाधरले बताउनुभएको छ । धादिङबेसीमा नीलकण्ठ नगर सङ्गठन कमिटीले आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड माधव पक्षीय भेलालाई संवोधन गर्दै तुलाधरले सो कुरा बताउनु भएको हो । जालझेल, सड्यन्त्र गरेर प्रचण्ड माधव नेपाललाई धोका दिई कम्युनिष्ट एकताको फाइदा केपि ओली र विद्या भण्डारीले मात्र लिएको उहाँले बताउनु भयो । आफ्नो ६० औँ जन्मोत्सव जेलमा मनाउन तयार रहेको भन्दै तुलाधरले ओली र विद्या भण्डारीको बिरोध गर्न नछाड्ने जिकिर गर्दै महाकाली सन्धीको मतियार के पि ओली नै भएको ठोकुवा गर्नुभयो । मलूकमा निरंकुशता प्रवेश गरेको भन्दै तुलाधरले कमेडी र प्रहसनले देश चल्दैन सडकबाटै आन्दोलनको ज्वारभाटा निकालेर ओलीको तानासाह प्रवृत्तिलाई निस्तेज पारिने बताउनु भयो । यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको नेकपा स्थायी कमिटी सदस्य विष्णु पुकार श्रेष्ठले केपि ओलीले छलछाम र तिकडम गरी कम्युनिष्ट एकतालाई ध्वस्त पार्न खोजेको बताउँदै २ सय ३८ वर्ष राज गरेको राजतन्त्र आन्दोलनकै बलमा फालिएकाले केपि ओलीको हैसियत झुसे बारुलाको जस्तै भएको बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नीलकण्ठ सङ्गठन कमिटीको आयोजनामा भएको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम नगर सङ्गठन कमिटीका अध्यक्ष दिपक विश्वकर्माको अध्यक्षता नेकपा स्थायी कमिटी सदस्य विष्णु पुकार श्रेष्ठको प्रमुख आतिथ्यता, नेकपा केन्द्रीय सदस्यहरु गङ्गालाल तुलाधर, पुष्प विक्रम मल्ल, कल्पना धमला, प्रदेश कमिटी सदस्यहरु गुरु प्रसाद बुर्लाकोटी, जगत सिंखडा, राम बहादुर भण्डारी, विजय बुर्लाकोटी, मनराज भण्डारी लगायतले संवोधन गर्नुभएको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाभित्रका करिब ३ सय भन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस