धादिङ १६ पौष
नीलकण्ठ नगरपालिका लगायत धादिङ जिल्लाका नागरिकहरुलाई सुलभ, सहज र गुणस्तरीय दन्त सेवा प्रदान गर्ने उद्देश्यले धादिङबेसीमा मिलन डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । बिहिबार नगरप्रमुख भिम प्रसाद ढुङ्गानाले क्लिनिकको उद्घाटन गर्दै क्लिनिक स्थापनासँगै सेवा प्रवाहलाई थप चुस्त, व्यवस्थित र सहज बनाउन जोड दिनुपर्ने बताउनु भयो । ढुङ्गानाले यस्ता क्लिनिकहरु जति धेरै खुल्यो नागरिकहरुले त्यत्तिकै मात्रामा सहज ढङ्गले सेवा उपभोग गर्न पाउने बताउनु भयो । क्लिनिकका प्रोपाइटर मिलन बराइलीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि नगर प्रमुख भिम प्रसाद ढुङ्गाना रहनुभएको थियो भने विशेष अतिथिमा नेकपा नीलकण्ठ संगठन कमिटीका अध्यक्ष दिपक विश्वकर्मा रहनुभएको थियो । डेन्टल सम्बन्धी अध्ययन गरेर दन्त सेवामा निरन्तर लागिराख्नुभएका मिलन बराइलीले आफ्नो क्लिनिकबाट सेवाग्राहीहरुलाई विेशष छुटका साथ सुपथ, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । धादिङबेसी पुछारबजार मूलचोकमा सञ्चालनमा आएको क्लिनिकबाट दाँत सफा गर्ने, दाँत भर्ने, कृतिम दाँत राख्ने, दाँतको एक्सरे गर्ने लगायत दाँतसम्बन्धी सबै किसिमका उपचारहरु गर्ने सञ्चालक बराइलीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस