धादिङ ९ पौष
गजुरी गाउँपालकिाबाट प्रवाह भएका सेवा, बस्तु तथा विकास निर्माणको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गजुरी गाउँपालिकाको आयोजना तथा पूणर्िमा बिहानी परियोजना धादिङको सहकार्यमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा गाउँपालिकाका सबै वडा अध्यक्षहरुले ३ वर्षको अबधिमा गरिएका विकास निर्माण र सेवा प्रवाहका कामहरुको बारेमा सहभागीलाई जानकारी गराएका थिए । जानकारीका क्रममा वडा अध्यक्षहरुले खानेपानीको क्षेत्रमा राम्रो गरेको, हरेक वडामा स्वास्थ चौकी निर्माण गरेको, वडा कार्यालय भवन निर्माणाधिन अवस्थामा रहेको र सडक बत्ती हाल्न सफल भएको बताएका थिए । यस्तै कार्यक्रममा जिज्ञासा राख्ने क्रममा वडा नम्बर २ की सानुमाया तामाङले साउन ५ गते आएको बाढी पहिरोले बस्ती तहसनहस भएको सुत्केरी, गर्भवत्ती, बालबालिका तथा जेष्ठ नागरिकको लागि टेन्टमा बस्दा समस्या भएको बताउदै २१ घरधुरी समस्यामा रहेको बताएकी थिइन् । उक्त जिज्ञासालाई संबोधन गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले भोलि नै प्रत्यक्ष अवलोकन गरी बन्दोबस्त गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
यस्तै सहभागीको जिज्ञासा संवोधनका क्रममा अध्यक्ष बस्नेतले वर्षाका कारण गाउँपालिकाका विभिन्न क्षेत्रमा गएको बाढी पहिरोले स्थानीयलाई धेरै समस्या भएको स्वीकार गर्दै कार्यपालिका बैठक बसेर बाढी पीडितको समस्या तत्काल समाधान गर्ने, काम गर्ने शिलशिलामा भएका गल्ती कमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने लगायतका प्रतिबद्धता जनाउनु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरेले गाउँपालिकाको आर्थिक तथा बित्तीय प्रगति विवरण प्रस्तुत गर्नुभएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण गोगो फाउन्डेसनका कार्यकारी निर्देशक केदार खड्काले गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष बस्नेतसहित उपाध्यक्ष सीता ढुङ्गाना, ८ वटै वडाका अध्यक्षहरु, जनप्रतिनिधि लगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस