धादिङ ५ पुष
पत्रकार आचार संहित पालना नगर्ने जो कोही पत्रकारलाई पनि कारवाहि गर्ने नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द्र आचार्यले बताउनु भएको छ । आमसञ्चार माध्यममा आवद्ध पत्रकारहरुले नैतिक आँच आउने र समाजबाट अपहेला हुने खालको समाचार सम्प्रेशण गर्न नहुने बताउनु भयो । पत्रकार भनेको सामाजिक उत्तरदायित्व पेशा भएकाले समुदाय स्तरमा लुकेर बसेका आवाजहरुलाई बुलन्द गर्नु पर्ने बताउँदै स्वतन्त्र र निष्पक्ष रुपमा पत्रकारिता गर्नु पर्नेमा जोड दिनु भयो । आईतबार प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ धादिङको समन्वयमा पत्रकार आचार संहिता र कोभिड १९ ले मिडियामा परेको प्रभाव सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्नु हुँदै आचार्यले सो कुरा बताउनु भएको हो ।
यस्तै अनलाईन र युट्युबका कारण वास्तविक पत्रकारहरु हामी पत्रकार हौ भनेर गर्व गर्ने अवस्था नभएको प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले बताउनु भएको छ । कोरोना भाइरस कोभिड १९ को समयमा पत्रकारिता क्षेत्रमा निरन्तर रुपमा लाग्ने महिला पत्रकारहरुको लागि प्रेस काउन्सिल नेपालले छुट्टै सेवा सुविधान दिने र करिब १० जना पत्रकारहरुलाई राहत प्याकेज दिने हिसावले अगाडि बढेको भुसालले बताउनु भयो । संकटमा परेका सञ्चार माध्यमहरुलाई काउन्सिल निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
यस्तै जिल्ला हुलाक कार्यालय धादिङका प्रमुख इन्द्र खतिवडाले हुलाक कार्यालयमा हाल सम्म २२ वटा मात्र सञ्चार माध्यमहरु दर्ता भएको बताउनु भएको छ । यस्तै बैधानिक रुपमा दर्ता नभई सञ्चालनमा आएका सबै अनलाईनहरु बन्द गर्नुपर्ने खतिवडाले बताउनु भएको छ ।
अन्तक्र्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीको अध्यक्षता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द्र आचार्यको प्रमुख आतिथ्यता तथा प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालको विशेष आतिथ्यता रहेको कार्यक्रममा जिल्लामा सञ्चालित विभिन्न सञ्चार माध्यमा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस