धादिङ ०४ पौष
सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङको ११ औं साधारण सभा शनिबार धादिङबेसीमा सम्पन्न भएको छ । महान् जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका राजनैतिक परिवर्तनबाट प्राप्त उपलब्धीहरुलाई आम नागरिक सम्म पुर्याउने र समुदायको आवाजलाई मुखरित गर्ने मुख्य उद्धेश्यका साथ सहकारी स्थापना भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका बागमती प्रदेश सचिवालय सदस्य रामबहादुर भण्डारीले सामुदायिक रेडियोहरुले समुदायका आवाजलाई बुलन्द गर्नुपर्ने बताउदै सत्य तथ्य समाचार सम्प्रेषण गर्न अति आवश्यक रहेको बताउनु भएको छ ।
देशमा संघीय गणतन्त्र स्थापनार्थ भएको १० वर्षे जनयुद्धको क्रममा हजारौ बलिदानी भएको स्मरण गर्दै भण्डारीले जनयुद्धका क्रममा राज्यद्धारा बेपत्ता पारिएकाहरुलाई अझैसम्म सार्वजनिक नगर्नु दुःखको कुरा भएको बताउनु भयो ।
यस्तै संस्थाका अध्यक्ष मनराज भण्डारीले कोरोना भाइरस कोभिड १९ को समयमा पनि रेडियोले नियमित रुपमा आफ्नो प्रशारणलाई निरन्तरता दिएको बताउदै सामुदायिक रेडियोहरुले समुदाय स्तरमा लुकेर बसेका विभिन्न गतिविधिहरुलाई जनतासामु ल्याउनु पर्नेमा जोड दिनुभयो ।
मनराज भण्डारी संस्थाका उपाध्यक्ष सुदर्शन खतिवडाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कोषाध्यक्ष गीता अधिकारीले आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितिका संयोजक पुष्पराज थपलियाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वि.सं. २०६५ सालमा स्थापना भएको यस सहिद स्मृति सञ्चार सहकारी संस्थामा हाल ४ सय ६२ सेयर सदस्य रहेका छन् भने कुल सेयर पूजि ३६ लाख ३३ हजार ५ सय रहेको छ । संस्थाले हाल रेडियो बिहानी ९७.६ मेगाहर्ज सञ्चालन गरिरहेको छ भने निकट भविष्यमै केही वर्षदेखि रोकिएर बसेको जनमुक्तिमार्ग पत्रिका पनि सञ्चालन गर्ने योजना अघि सारेको छ । संस्थाका अध्यक्ष मनराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका बागमती प्रदेश सचिवालय सदस्य तथा जनक्रान्तिका शहिद तथा बेपत्ता परिवार समाज धादिङका अध्यक्ष राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा धादिङका सचिव बिजय बुर्लाकोटी र संस्थापक अध्यक्ष उत्तम कडेंलको विशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन महासचिव बोदनाथ दुवाडीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस