धादिङ ३ पुस
जिल्ला प्रशासन कार्यालय धादिङमा आर्थिक वर्ष २०७७/०७८ को हाल सम्म ४८ लाख १५ हजार २ सय ५० रकम राजश्व संकलन भएको छ । जसमा संघ संस्था/दर्ता तथा नविकरणबाट रु ५० हजार, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु ५ हजार, अन्य सेवा शुल्कबाट रु २५, हातहतियार नविकरण दस्तुरबाट रु १४ हजार ७ सय २५ र राहदानी जारी तथा नविकरणबाट रु ४७ लाख ४५ हजार ५सय गरी कुल ४८ लाख १५ हजार २ सय ५० रुपैंया राजश्व संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताउनु भयो । कार्यालयबाट प्रदान हुने सेवा सुविधाहरुलाई अझै चुस्त दुरुस्त बनाउने मल्लले बताउनु भयो ।
यस्तै कोरोना भाइरस कोभिड १९ लाई मध्ये नजर गर्दै कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई भौतिक सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क लगाउन मल्लले आग्रह समेत गर्नु भयो । कार्यालयबाट छिटो छरितो रुपमा सेवा प्रवाह गर्ने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ । नागरिकता, पासपोर्ट लगायत अन्य काममा आउने सेवाग्राहीहरुले प्रशासन कार्यालयको नीति नियमलाई तोड्न खोजिएमा बाध्य भएर अतिआवश्यकीय कामहरु बन्द गर्ने सहायक प्रमुख जिल्ला अधिकारी मल्लले बताउनु भयो । कोरोना भाइरसका कारण सरकारले जारी गरेको निषेधाज्ञाको अवधिमा समेत जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीहरु दिदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस