धादिङ ३० मंसिर
धादिङको गंगाजमुना गाउँपालिकाबाट प्रबाह भएको सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम मङ्गलबार गंगाजमुना गाउँपालिका वडा नम्बर ५ फुलखर्कमा सम्पन्न भएको छ । गंगाजमुना गाउँपालिकाको आयोजना तथा पूणर्िमा बिहानी परियोजना धादिङको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागिहरुले एक घर एक धारा अभियान अझै पनि सम्पन्न नहुनु दुःखको कुरा भएको बताएका थिए । यस्तै २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पपछि क्षतिग्रस्त भएका भूकम्प पीडितहरुले समयमै राहत नपाएको गुनासो व्यक्त गरेका थिए । गंगाजमुना गाउँपालिकामा खानेपानी, सिंचाई, सडक निर्माण लगायत विकास निर्माण कार्य गर्दा गरिवीहरुको घर गोठ जाँदा उनीहरु मर्कामा परेको स्थानीयहरुको भनाई छ । यस्तै गंगाजमुना गाउँपालिकामा बैंकिङ सेवाको उल्लेख्य पहुच नहुँदा नेपाल सरकारले तोकेको बृद्धा भत्ता लिन समेत समस्या भएको बताएका थिए ।
बैंकिङ सेवा भत्ता वितरण नहुँदा सरकारले तोकेको बृद्धा भत्ता बास्तविक बृद्धाहरुले नपाएको र जाडोको समयमा न्यानो कपडा किन्न समेत नपाएको बृद्धाहरुको भनाई छ । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोक्काले गाउँपालिकाको आर्थिक तथा वित्तीय प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुले गरेका विभिन्न प्रश्नहरुको वडा सम्बन्धी वडा नम्बर ७ का वडा अध्यक्ष र गाउँपालिका सम्बन्धी गाउँपालिकाका अध्यक्ष बल बहादुर अधिकारीले जवाफ दिनु भएको थियो । ंगगाजमुना गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिकाका वडा नम्बर १ देखि ७ सम्मका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उल्लेख्य मात्रामा गाउँपालिकाका सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासाहरुलाई संवोधन गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले खानेपानीको समस्या भएका क्षेत्रमा खानेपानीको पहुच विस्तारका लागि गाउँपालिकाले बजेट विनियोजन गरेर लागि परेको बताउनुभयो । यस्तै लाभग्राही सूचिमा नपरेका वास्तविक भूकम्प प्रभावितहरुलाई गाउँपालिकामा आएर निवेदन दिन आग्रह गर्नुभयो । कोभिड १९ का कारण बन्द भएको हाट बजार सञ्चालन गर्ने, गाउँपालिका तथा अस्पतालबाट दिइने सेवालाई थप व्यवस्थित बनाइने र सडक निर्माणको कार्यलाई तिव्रता दिने प्रतिबद्धता समेत अध्यक्ष अधिकारीले गर्नुभयो ।
यस्तै सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लगायत जनप्रतिनिधिहरुले ५ प्रतिबद्धता गरेका छन् ।
1. वडा नं. ५ की भगवती नेपालले विविध समस्याका कारण घर निर्माण गर्न नसकेकाले जनता आवास कार्यक्रम मार्फत १ महिनाभित्रमा घर निर्माणका लागि आवश्यक व्यवस्था मिलाउने,
2. वडा नं. ४ मा फनबोर्डको सहयोगमा सञ्चालित खानेपानी आयोजनालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने,
3. गंगाजमुना गाउँपालिकामा विद्युत महसुल संकलन र जरिवानामा देखिएको समस्या सम्बन्धित पक्षसँगको समन्वयमा ७ दिनभित्रमा समाधान गर्ने,
4. वडा नं. ३ मा रहेको आलु भण्डारण केन्द्रलाई चालु आर्थिक वर्षको अन्त्यसम्ममा आवश्यक व्यवस्थापन सहित सञ्चालन गर्ने,
5. वडा नं. ५ मा रहेको हाट बजार आगामी महिनाबाट सञ्चालन गर्ने ।
प्रतिक्रिया दिनुहोस