गोरखा २५ मङ्सिर
कृष्ण बहादुर लामिछाने
सहारा कृषि सहकारी संस्था लिमिटेड भिमसेनाथापा गाउँपालिका ३ तान्द्राङ गोरखाको प्रथम साधारण सभा विहिबार सम्पन्न भएको छ । परम्परागत रुपमा चल्दै आएको कृषि प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री र महिलामैत्री कृषि प्रणाली विकास गर्ने तथा युवा शक्तिलाई कृषि क्षेत्रमा आकर्षित गरी उत्पादन बढाई समुदायको आर्थिक स्तर वृद्धि गराउने उद्धेश्यका साथ सहकारीको स्थापना भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भिमसेनथापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले साधारण सभालाई सम्बोधन गर्दै ठोस योजनाका साथ सहकारी संस्थाहरु अगाडि बढेमा स्थानीय सरकारलाई कृषि क्षेत्रको विकासमा कुन ठाउँमा लगानी वा सहयोग गर्नुपर्ने , त्यसको पहिचान गर्न सहज हुने र त्यस्ता योजनाको पहिचान गर्दा विविधतालाई समेत ध्यान दिनुपर्ने बताउनु भयो । संस्थाकी उपाध्यक्ष भोजकुमारी धमलाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सीताराम लामिछानेले चालु आर्थिक वर्षमा स्थानीय कृषकहरुको सेवा सुविधाको निमित्त कृषि सहायता केन्द्र सञ्चालन गर्ने संस्थाको निणर्य सहितको प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
साथै संस्थाका कोषाध्यक्ष मेगनाथ बन्जराले आर्थिक बर्ष २०७७ /०७८ को श्रावणदेखि मंसिर महिना सम्मको आम्दानी २ लाख ४८ हजार ४ सय ९० , खर्चतर्फ १ लाख ५७ हजार १ सय ६९ रुपैयां र बचत तर्फ ९१ हजार ३ सय २१ रुपैंया ५० पैंसा रहेको प्रतिवेदन प्रस्तुत गर्नु भयो । संस्थाका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न भएको साधारण सभा कार्यक्रममा भीमसेनथापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष विनु वाग्लेको विशिष्ट आतिथ्यता तथा वडा अध्यक्ष लिलानाथ लामिछानेको विशेष आतिथ्यता रहेको कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
समापन समारोहमा बोल्नु हुँदै संस्थाका अध्यक्ष हेमराज ढकालले अहिले व्यवसायिक कृषि पेसा अङ्गालेका कृषकहरुलाई लगानी उठाउन कठिन भएको अबस्थामा उत्पादन र बजारीकरणमा स्थानीय सरकारले अनुदानको व्यवस्था गर्नु पर्ने साथै कृषि क्षेत्रको विकासका लागि सहकारी संस्थाले एकिकृत कृषि विकास योजना तयार गरी उपलब्ध स्रोत साधन उपयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो । भेलाले हेमराज ढकाल अध्यक्ष रहने गरी ९ सदस्यीय संचालक समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा भोज कुमारी धमला, सचिवमा सीताराम लामिछाने, कोषाध्यक्षमा मेघनाथ बन्जरा रहनु भएको छ । त्यस्तै सदस्यहरुमा खडानन्द्र सुवेदी, रुपा नेपाली, टिकाकुमारी लामिछाने, विष्णु प्रसाद खनाल, यम बहादुर गुरुङ रहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस