धादिङ २५ मङ्सिर
गुठी समस्या समाधानको माग गर्दै आन्दोलनमा उत्रिएका धादिङका गुठीपीडित नागरिकहरुको समस्या समाधान हल भएको छ । मंसिर १७ गतेदेखि चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका बायुगुठी पीडितहरुको समस्या बिहिबार भुमिसुधार मन्त्री पद्यमा अर्याल र मन्त्रालयका सचिव, सह-सचिव र पीडितहरुको संयुक्त वर्तापछि समस्या समाधान भएको हो । लालपूर्जामा श्री ५ को बायुगुठी र जग्गाधनीलाई मोही बनाइएको लालपूर्जामा अब मन्त्रीपरिषदको बैठकबाट श्री ५ हटाई रैतान कायम गर्ने समझदारी भएसँगै आन्दोलन टुङ्गिएको सङ्घर्ष समितिका संयोजक ईश्वरी बहादुर लम्सालले जानकारी दिनुभयो । मन्त्री अर्यालले गुठी पीडितहरुलाई बुधबारदेखि मालपोत कार्यालय धादिङमा नयाँ लालपूर्जा लिन आग्रह गर्नुभएको समेत लम्सालले बताउनु भयो । वायुगुठीको नाममा बसोबास गर्दै आएका धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११, नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ का करिब ३ हजार घरधुरी नागरिकहरुको आफ्नो पैतृक सम्पति जग्गाको नापी हुँदा हुँदै २०७४ सालदेखि मालपोत कार्यालयबाट एक्कासी श्री ५ को वायुगुठीलाई जग्गा धनी बनाई जग्गा धनीलाई मोही बनाएर प्रमाणपुर्जा प्रदान गरिएको थियो । यस विषयमा पीडितहरुले सम्बन्धित व्यक्तिहरुको लालपूर्जा यथावत ढाँचामा सच्याउन पाउँ भनी जिल्ला मालपोत कार्यालय, गुठी संस्थान विभाग र मन्त्रालयमा ताकेता गर्दा २०७६ बैशाख ११ गते गुठी संस्थान कार्यालय त्रिपुरेश्वर काठमाण्डौंले जिल्ला मालपोत कार्यालय धादिङमा सम्पूणर् विवरण खुलाई पठाई दिने भनी पत्र पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस