धादिङ २४ मङ्सिर
चेपाङ किशोरीहरुको शैक्षिक विकासको लागि आफुले सक्दो सहयोग गर्ने जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताउनु भएको छ । गजुरी गाउँपालिका वडा नम्बर १ स्थित हाँगेटारमा बुधबार आवासीय चेपाङ छात्राबास भवनको शिलान्यास कार्यक्रममा बोल्दै नेपालले भवन निर्माण पश्चात व्यवस्थित रुपमा संचालन गर्न चेपाङ संघ र गजुरी गाउँपालिकाले बिशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो । यस्तै भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले छात्राबास भवनको सही प्रयोग तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो । प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ड एण्ड डेभलपमेन्ट, फ्रान्स सँगको साझेदारीमा जिल्ला समन्वय समिति धादिङ, गजुरी गाउँपालिका धादिङ र नेपाल चेपाङ संघ धादिङको समन्वयमा भवन निर्माण गर्न लागिएको अर्यालले बताउनु भयो । ४.५ रोपनी क्षेत्रफलमा बन्न लागेको छात्राबास भवनमा, भान्सा तथा डाईनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पाले घर सहित ३० जना बस्ने क्षमता भएको भवन १ करोड १५ लाखको लागतमा निर्माण गर्न लागिएको हो । उक्त छात्राबास भवनको २०७८ जेठ मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेलको अध्यक्षतामा सम्पन्न भएको शिलन्यास कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत, उपाध्यक्ष सीता ढुङ्गाना, नेपाल चेपाङ संघका सचिब कृष्ण बहादुर चेपाङ, पत्रकार महासंघका अध्यक्ष नबराज छत्कुली, लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस