धादिङ २० मङ्सिर
गुठी समस्या समाधानको माग गर्दै धादिङका गुठीपीडित नागरिकहरुले शनिबार निलकण्ठ नगरपालिका वडा नम्बर ११ चामभन्ज्याङमा आम भेला गरेका छन् । नीलकण्ठ नगरपालिका वडा नं. १० र ११ साविकको ज्यामरुङ र नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ५ कटुञ्जेका करिब ३ हजार घरधुरी नागरिकहरुले श्री ५ को बायु गुठीका रुपमा रहेको जग्गा रैकर गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । गुठीपीडितहरुको समस्या हाल सम्म पनि समाधान हुने संकेत नभएको भन्दै बुधबारदेखि गुठी समस्या समाधान संघर्ष समितिले चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो । पूर्व मन्त्री तथा नेकपा केन्द्रीय सदस्य कल्पना धमलाले रैकर लालपुर्जा दिलाउदै गुठीबाट मुक्त हुने अभियानमा आफू पनि लामबद्ध रहेको बताउदै आन्दोलनको कार्यक्रममा ऐकेबद्धता जनाउनु भयो ।
नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले गुठीको नाममा रहेको जग्गा रैकर हुनुपर्ने भन्दै आन्दोलनका कार्यक्रमसँगै बार्ता र छलफललाई पनि अगाडि बढाउनुपर्ने बताउनुभयो ।
गुठी समस्या समाधान संघर्ष समितिका अध्यक्ष इश्वरी बहादुर लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व मन्त्री तथा नेकपो केन्द्रीय सदस्य कल्पना धमलाको प्रमुख आतिथ्यता, नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी र नेपाली काङ्ग्रेस धादिङका सभापति रमेश धमलाको विशेष आतिथ्यता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तिलक बहादुर थापामगर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा करिब ५ सय गुठी पीडित स्थानीयहरको उपस्थिति रहेको थियो । चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको सङ्घर्ष समितिको मङ्सिर २३ गते मालपोत कार्यालय धादिङमा तालाबन्दी गर्दै धर्ना गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस