धादिङ १८ मङ्सिर
बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका प्रभावित धादिङ र गोरखाका नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । बुढीगण्डकी जलविद्युत आयोजनाको तत्काल मोडालिटी टुङ्ग्याउन तथा प्रभावित क्षेत्रभित्रको घरगोठ र फलफूलको मुआब्जा वितरण तत्काल गर्नु पर्ने भन्दै पीडितहरु आन्दोलनमा उत्रिएका हुन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाइमा गोरखाकोे गण्डकी गाउँपालिका वडा नम्बर ८ सिउरेनटार स्थित बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा, पुनर्वास तथा पुनःस्थापना इकाईबाट प्रभावित भएका नागरिकहरुले चरणबद्ध रुपमा आन्दोलन गरिएको डुबान प्रभावित एक बहादुर मगरले बताउनु भयो । राष्ट्रिय गौरवको विषयमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी टुङ्ग्याएर निर्माण कार्य तत्काल सुरु गर्न, प्रभावित क्षेत्र भित्र पर्ने घरगोठ तथा बोटबिरुवाको लगत सार्वजनिक गर्न, दररेट निर्धारण गरी मुआब्जा वितरण गर्नुपर्ने पीडितहरुको माग रहेको छ ।
आफ्नो मागहरु पुरा नभए थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने सरोकार समितिका संयोजक हरेराम ढकालले बताउनु भयो । १२ सय मेगावाट विद्युत उत्पादन गर्ने जलासयमा आधारित यो आयोजनाबाट धादिङका सलाङ, चैनपुर, मैदी, खरी, मारपाक, ज्यामरुङ, त्रिपुरा, आगिञ्चोक तथा गोरखाका घ्याल्चोक, बुङकोट, दरबुङ, भुम्लीङचोक, नामजुङ, फुजेल, बोरलाङ, तान्द्राङ, धावा, आरुचनौटे, आरु आर्बाङ, थुमी, लगायतका स्थान प्रभावित हुनेछन् । यी क्षेत्रबाट ४८ हजार रोपनी जमिन अधिग्रहण गर्ने र जहाँबाट ४५ हजार जना विस्थापित हुनेछन् । जलविद्युत आयोजना निर्माण पश्चात ती स्थानमा पोखराको फेवाताल भन्दा करिब १४ गुणा ठूलो ताल बन्ने र तालको वरिपरि चक्रपथ निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य समेत राखिएको थियो । धादिङ तर्फ ३५ हजार रोपनी र गोरखातर्फ करिब ३२ रोपनी क्षेत्रफल डुबान पर्ने आयोजनाको डिपिआरमा उल्लेख छ । बुधबार देखि सुरु भएको धर्ना कार्यक्रम आगामी मंसिर २४ गते सम्म चल्नेछ । धर्ना कार्यक्रममा धादिङ र गोरखा दुवै जिल्लाका डुबान प्रभावित क्षेत्रका नागरिकहरु पालैपालो सहभागी हुने सरोकार समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस