धादिङ १३ मङ्सिर
धादिङको नीलकण्ठ नगरपालिकामा शनिबार २ वटा खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । नीलकण्ठ नगरपालिकाको वडा नम्बर १० स्थित ज्यामरुङमा चिसोपानी भारमाले खानेपानी परियोजना र वडा नम्बर ९ को पाख्री खोला लिफ्टिङ खानेपानी परियोजनाको छुट्टा छुट्टै कार्यक्रमका बीच शिलान्यास गरिएको हो । खानेपानी परियोजनाको शिलान्यास समारोहमा बोल्दै मेयर ढुङ्गानाले विकास निर्माण कार्यमा कुनै पनि राजनीतिक दलहरुले हस्तक्षेप गर्न नहुने बताउनु भएको छ । मेयर ढुङ्गानाले तिर्खा मुक्त नगर बनाउने उद्धेश्य अनुरुप काम भईरहेको भन्दै उहाँले चुनाव अघि आफुले गरेको तिर्खा मुक्त नगर बनाउने प्रतिबद्धता पुरा भएको बताउनु भयो । ढुङगानाले खानेपानीको निर्माण कार्य सम्पन्न भएपछि ज्यामरुङका नागरिकहरु समाधान भएको बताउनु भएको छ ।
यसै गरी नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले निर्माणाधिन आयोजनाहरुमा स्थानीय नागरिकहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । निर्माण हुन लागेको योजनाहरुको समय समयमा अनुगमन हुने भन्दै भण्डारीले गुणस्तरी काम गर्नको लागि सवै नागरिकहरुलाई आग्रह समेत गर्नुभयो ।
खानेपानीको चरम समस्या झेल्दै आएका वडा नम्बर १० ज्यामरुङ र वडा नम्बर ९ ज्यामिरे पाल्पाका नागरिकहरु खानेपानी आउने भएपछि खुशी भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर १० मा निर्माण हुन लागेको खानेपानी ओजनाबाट १ सय १४ घरधुरी लाभान्वित हुने भएका छन् ।
नीलकण्ठ नगरपालिका र सर्भिस फर पिसको ४८ लाख ४८ हजार २ सय २ र समुदायको श्रमदान ९ लाख ६५ हजार ११ रुपैया गरी कुल ५ लाख १३ हजार २ सय ९३ रुपैया ६ पैंसाको लागतमा चिसोपानी भारमाले खानेपानी परियोजना सम्पन्न गर्न लागिएको हो । यसैगरी वडा नम्बर ९ ज्यामिरे पाल्पामा निर्माण हुन लागेको खानेपानी आयोजनाबाट १ सय ७ घरधुरीका नागरिकहरु लाभान्वित हुने भएका छन् । नीलकण्ठ नगरपालिका र सर्भिस फर पिसको ७५ लाख ५२ हजार २०, समुदायको श्रमदान १० लाख २२ हजार २ सय ९६ गरी कुल १ करोड ३५ लाख ७४ हजार ३ सय १७ रुपैँया ३० पैंसाको लागतमा निर्माण गर्ने लक्ष्य रहेको पाख्री खोला ज्यामिरे पाल्पा जल उपभोक्ता संस्थाका अध्यक्ष नवराज लम्सालले बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको शिलान्यास कार्यक्रममा उप मेयर मनराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सर्भिस फर पिसका कार्यकारी निर्देशक सरोज कुमार खनाल, केन्द्रीय सदस्य शम्भुसिंह ठकुरी लगायत स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस