धादिङ १२ मङ्सिर
शहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड नीलकण्ठ नगरपालिका धादिङद्धारा सञ्चालित सामुदायिक रेडियो बिहानी ९७ दशमल ६ मेगाहर्ज आजबाट१२ औं वर्षमा प्रवेश गरेको छ । २०६६ साल मङ्सिर १२ गते स्थापना भएको ५०० वाट क्षमताको उक्त रेडियो धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा प्रशारण केन्द्र तथा सुनौलाबजारस्थित भैरवी डाडाँमा रहेको सव स्टेशनमार्फत धादिङ लगायत देशका ४० जिल्लाहरुमा प्रशारण पहुच रहेको छ । १२ औं स्थापना दिवसको अवसरमा शुक्रबार संघीयता कार्यान्वयनमा सामुदायिक रेडियोहरुको भूमिका सम्बन्धी अन्तर संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो । समाज रुपान्तरण, देश उन्नतिमा सहयोगी भुमिका निर्वाह गर्ने उद्देश्यका साथ सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित रेडियो बिहानी ९७.६ मेगाहर्ज आम जनसमुदायको सहभागितामा स्थापना भएको सामुदायिक रेडियो हो ।
२०६६ साल मङ्सिर १२ गतेदेखि नियमित प्रशारण भइरहेको रेडियो बिहानीको अत्याधुनिक स्टुडियो सदरमुकाम धादिङबेसीमा छ भने समुद्री सतहबाट करिब १६०० मिटर उचाइमा रहेको साबिकको सुनौलाबजार गाउँ विकास समितिमा पर्ने भैरवी मन्दिर नजिकैको डाँडामा टावर छ । टावरमा रहेको ५०० वाट क्षमताको ट्रान्समिटर र 6 Bay Jampro Antenna लाई Studio to Tower Link प्रविधिद्धारा जोडिएको छ । यसरी अत्याधिक उचाइबाट प्रशारण गरिएकोले रेडियो बिहानी धादिङ जिल्लाका सम्पूणर् भूभाग, रसुवा, नुवाकोट र गोरखामा पूणर् रुपमा सुन्न सकिन्छ । यसका अतिरिक्त पूर्व रामेछापदेखि काठमाडौँ उपत्यका हुदैँ मकवानपुर, चितवन, नवलपरासी, पाल्पा, तनहूँ, स्याङ्जा, पर्वत, कास्की, लमजुङ लगायत ४५ भन्दा बढी जिल्लाहरुमा पनि उल्लेख्य कभरेज छ । करिब चौथाई करोड जनताको बीचमा रेडियो बिहानीको प्रशारण पहुँच रहेको छ ।
यसैगरी www.radiobihani.org.np/ www.radiobihani.org मार्फत संसारको जुनसुकै स्थानमा पनि सुन्न सकिने हुनाले अझ बढी श्रोतामाझ रेडियो बिहानी पुग्न सफल भएको छ । सहरी तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायलाई लक्षित गरी प्रशारण गरी प्रशारण भइरहेको रेडियो बिहानी यो अवधिसम्म आइपुग्दा यो क्षेत्रको लोकप्रिय रेडियोको रुपमा स्थापित हुँदै गइरहेको छ ।
रेडियो बिहानीलाई समुदायको आफ्नै रेडियो बनाउन जनचासोका बिबिध विषयवस्तुहरुलाई समेटी कार्यक्रम उत्पादन र प्रशारण गरिदैँ आइरहेको छ । दैनिक १८ घण्टा सञ्चालित रेडियो बिहानीको नियमित प्रशारण अन्तरगत राष्ट्र तथा राष्ट्रिय भाषाहरुमा समाचार, विविध मनोरञ्जनात्मक, शिक्षामूलक, सूचनामूलक र समावेसी प्रकृतिका प्रशारण सामग्रीका साथै प्रत्यक्ष प्रशारण, समय समयमा नव पत्रकारहरुलाई पत्रकारिता तालिम लगायतका कार्यक्रमहरु प्रशारण भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस