धादिङ ०५ मङ्सिर
पेस्की फस्र्यौटमा उत्कृष्ठ कार्य गर्ने ३ पूर्व कर्मचारीलाई नीलकण्ठ नगरपालिकाले सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच आर्थिक वर्ष २०७३/०७४ सालमा पेस्की फस्र्यौट गरी देशकै उत्कृष्ठ नगरपालिका बनाउन भूमिका खेल्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र लेखापाललाई नगद सहित सम्मान गरिएको हो । आर्थिक वर्ष ०७३/०७४ सालमा पेस्की फर्यौस्टमा नीलकण्ठ नगरपालिकालाई नेपालकै प्रथम बनाउन महत्वपूणर् भुमिका खेल्ने तत्कालिन प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्त, लेखा अधिकृत बलराम मरासिनी र लेखापाल पवित्रा बुर्लाकोटीलाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार सहित सम्मानपत्र र दोसल्लाद्धारा सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले कर्मचारी र जनप्रतिनिधिबिच उचित समन्वय भएमा नतिजामूलक कार्य गर्न सकिने र सेवा प्रवाहलाई पारदर्शी बनाउन सकिने बताउनु भयो । मेयर ढुङ्गानाले हरेक कुरामा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ठ हुँदै गएको बताउदै यसमा आम नगरबासी, जनप्रतिनिधि र कर्मचारीको त्रिकोणात्मक समन्वय भएमा अझै उत्कृष्ठ कार्य गर्दै जान सकिने पनि बताउनु भयो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख मनराज भण्डारीले कर्मचारीहरुको लगनशीलता, इमान्दारिता र जनप्रतिनिधिहरुको नियमित चासो र निगरानिका कारण उत्कृष्ठता हासिल गरेको बताउदै यस्ता कार्यहरुले थप हौसला प्रदान गर्ने बताउनु भयो ।
यस्तै सम्मानित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तले कर्मचारी र जनप्रतिनिधिहरुको उचित समन्वय हुन सकेमा सफलता हासिल हुने बताउदै सम्मान गरेकोमा नगरपालिका परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
मेयर भिम प्रसाद ढुङ्गानाको अध्यक्षता रहेको सम्मान कार्यक्रममा उप मेयर मनराज भण्डारी, कर्मचारी, जनप्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो । पेश्की फस्र्यौटमा ९७ दशमलब ८५ अंक सहित नीलकण्ठ नगरपालिका नेपालकै प्रथम हुन सफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस