धादिङ २६ कार्तिक
चाडपर्वलाई मध्ये नजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालित खाद्यान्न, होटल तथा रेष्टुरेन्टहरुको अनुगमन कार्यलाई तीव्रता दिएको छ । राजमार्ग क्षेत्रमा सञ्चालित होटल व्यवसायीहरुले यात्रुहरुसँग खाना खाजाको चर्को मूल्य लिने गरेको गुनासो आउन थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल नेतृत्वको टोलीले बुधबार बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित चरौदी बजार क्षेत्रमा सञ्चालित अधिकांश खाद्यान्न, होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरेको हो । अनुगमनको क्रममा बजार क्षेत्रमा सञ्चालित अधिकाशं होटलहरुमा बिल भरपाई नभएको, मूल्यसुची नराखेको, म्याद गुज्रिएका सामानहरु बेचखिन गरेको पाइएको छ । बुधबार पृथ्वी राजमार्ग क्षेत्रमा सञ्चालित करिब २५ वटा होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गर्दा बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित चरौदीमा सञ्चालित रामबाबु शाहको मिठाई पसललाई रु ५ हजार र लिला बहादुर कंडेलको श्रीकृष्ण किराना स्टोरलार्ई रु ५० हजार जरिवाना सहित कारबाहि गरिएको छ । उक्त मिठाई पसलको इजाजत पत्र नभएकाले रु ५ हजार र किराना स्टोरमा बिना दर्ता मदिरा बिक्री वितरण गरेकाले रु ५० हजार रुपैंया जरिवाना सहित कारबाही गरिएको हो । अनुगमनको क्रममा म्याद नाघेका सामानहरु जिल्ला प्रशासन कार्यालय धादिङले जफत गरी नष्ट गरेको छ ।
प्रतिक्रिया दिनुहोस