धादिङ २५ कार्तिक
नजिकिदै गरेको तिहार लगायतका चाडपर्वलाई मध्ये नजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले मङ्गलबार पृथ्वीराजमार्ग क्षेत्रका खाद्यान्न, होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरेको छ । होटल व्यवसायीहरुले यात्रुहरुसँग खाना खाजाको चर्को मूल्य लिने गरेको गुनासो आउन थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको नेतृत्वको टोलीले बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ स्थित हुग्दी खोलादेखि चरौदी बजार क्षेत्रमा सञ्चालित अधिकांश खाद्यान्न, होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरेको हो । अनुगमनको क्रममा बजार क्षेत्रमा सञ्चालित अधिकाशं होटलहरुमा खरिद बिल मूल्यसुची नभएको, र रक्सी लगायतका समानहरुको म्याद नाघिसकेकोे पाइएको छ । मङ्गलबार पृथ्वी राजमार्ग क्षेत्रमा सञ्चालित करिब २५ वटा होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गर्दा बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ स्थित चरौदीमा सञ्चालित रमेश होटल लगायत ३ वटा होटल कारबाहिमा परेका छन् । उक्त होटलको इजाजत पत्र नभएको र बिना दर्ताको पसलमा मदिरा बिक्री वितरण गरेकाले रु ५/५ हजार रुपैंया जरिवाना सहित कारबाही गरिएको हो । यस्तै पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालित होटलहरुमा मूल्य सूची नराखेको, साइनबोर्ड, नापतौलको प्रमाण, स्थायी लेखा नम्बर, दर्ता, खरिद बिलहरु नभएको पाइएको छ । अनुगमनको क्रममा म्याद नाघेका सामानहरु जिल्ला प्रशासन कार्यालय धादिङले जफत गरी नष्ट गरेको छ ।
प्रतिक्रिया दिनुहोस