धादिङ २४ कार्तिक
जातीय छुवाछुत तथा कुटपिट मुद्धाको जाहेरी लिन इन्कार गरेको जिल्ला प्रहरी कार्यालय धादिङले आइतबार जाहेरी लिएको छ । गत कार्तिक २ गते धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० ज्यामरुङ घर भएका २४ वर्षीय कञ्चन बसेलले आफूमाथि जातीय विभेद र कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । तर, प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले पीडितको जाहेरी लिनुको सट्टा मेलमिलाप गर्न दबाव दिएको पीडित पक्षले बताएको थियो । चौतर्फी बिरोध भएपछि आइतबार प्रहरीले जाहेरी लिएको छ । साथै आरोपी डम्बर बहादुर न्यौपानेलाई पक्राउ पनि गरेको छ ।
स्थानिय ५८ वर्षिय डम्बर बहादुर न्यौपानेले बसेलमाथि जातिय विभेद तथा छुवाछुत गरेको र कुटपीट समेत गरेको पीडितले बताएका छन् । गत कार्तिक २ गते आमा घरमा नभएको थाहा पाएपछि बसेल आमा खोज्न हिँडेका थिए । स्थानिय डम्बर न्यौपानेले सञ्चालन गरेको भट्टीमा मदिरा पिउँदै गरेको अवस्थामा आमालाई भेटेपछि उनले आमालाई सम्झाएका थिए । ‘तँ किन मेरो घरमा आइस् ? चमारे सार्की, गाइको मासु खाने भतुवा सार्की भएर बाहुनको घरमा आउने ? सार्कीलाई त हातले पनि पिट्नु हुन्न भन्दै चप्पल फूकालेर मुखमा थुकी पिटेको हो,’ पीडित बसेलले दिएको जाहेरीमा भनिएको छ ।
न्यौपानेले उनको आमालाई मदिरामा लठ्याएर नाजायज फाइदा समेत लिएको जाहेरीमा उल्लेख छ । प्रहरीले जाहेरी लिन अस्विकार गरेपछि उनले राष्ट्रिय दलित आयोगमा समेत उजुरी दिएका छन् । घटना भएको भोलीपल्टै पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपनि प्रहरीले २१ दिनपछि जाहेरी दर्ता गरी कारबाहीको प्रकृया अगाडि बढाएको दलित अभियन्ता नवराज मजाकोटीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस