धादिङ २२ कार्तिक
धादिङको गजुरी गाउँपालिका वडा नं. २ च्याम्बास र मलेखुका पहिरो पीडितलाई नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले शनिबार नगद सहयोग गरेको छ । उक्त २ स्थानका पहिरोबाट विस्थापित भएका ३२ परिवारलाई प्रति परिवार रु. ५ हजारका दरले नगद सहयोग गरिएको हो । गजुरी २ च्याम्बासका १९ र मलेखुका १३ परिवारलाई नगद ५ हजार सहित प्रति परिवार ५ वटा सावुन र एउटा झुल समेत सहयोग गरिएको हो । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति नारायण तिमल्सिनाको अध्यक्षता रहेको सहयोग हस्तान्तरण कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सीता ढुङ्गानाको विशेष आतिथ्यता रहेको थियो । यस्तै गजुरी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष चुडामणी कंडेल तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय प्रनितिधि जयराम बस्नेत र रविन दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस