धादिङ कार्तिक १८
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ मझिमटारमा रहेको शङ्खादेवी माध्यमिक विद्यालयमा मङ्गलबार आवासीय भवन निर्माणका लागि डिपिआर, आवासीय विद्यालय सञ्चालन कार्यविधि, विनियम सम्बन्धमा सरोकारवालाहरुबीच छलफल भएको छ । बागमती प्रदेशको सामाजिका विकास मन्त्रालयले प्रदेशभित्रका ५ वटा विद्यालयमा आवासीय भवन निर्माणका लागि अनुदान प्रदान गरेकोमध्ये धादिङमा शङ्खादेवी माध्यमिक विद्यालयले उक्त अनुदान प्राप्त गरेको हो । करिब पौने दुई करोड अनुदान प्राप्त गरेको उक्त विद्यालयले मङ्गलबार स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, स्थानीय शिक्षाप्रेमीहरु तथा राजनैतिक पार्टी प्रतिनिधिहरुसँग छलफल गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ९ का अध्यष सुरेश मल्लको अध्यक्षता रहेको कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवी प्रसाद सिलवालको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईको विशेष आतिथ्यता रहेको थियो । चेपाङ समुदायका विद्यार्थीहरुको बाहुल्यता रहेको उक्त विद्यालयको आफ्नै २१ रोपनी जग्गा रहेको र सोही जग्गामा छात्र छात्राका लागि छुट्टा छुट्टै सुविधा सम्पन्न आवासीय भवन निर्माणका लागि डिपिआर तयार भैसकेको विद्यायका शिक्षक तिलक चेपाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस